काठमाडौं । तमानखोला गाउँपालिका–३ मा निर्माणाधीन वडा कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा अर्गेजा कन्स्ट्रक्सन कम्पनीले दुई वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको यो भवन हाल पूरा भइसकेको भए पनि तोकिएको समयमै हस्तान्तरण हुन सकेको छैन ।
संघीय समपूरक बजेटअन्तर्गत संघ सरकारको १ करोड रुपैयाँ र तमानखोला गाउँपालिकाको १ करोड रुपैयाँ गरी कुल २ करोड रुपैयाँको लागत अनुमानमा ठेक्का आह्वान गरिएको थियो । ठेक्का प्रक्रियामार्फत अर्गेजा कन्स्ट्रक्सनले १ करोड ६८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको हो ।
निर्माण कम्पनीले सम्झौताअनुसार दुई वर्षमै वडा कार्यालय निर्माण गरी हस्तान्तरण गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि तीन महिनाको समय थप गरिएको थियो । तर, थप गरिएको समयसमेत सकिन लाग्दा पनि निर्माण कम्पनीले भवन वडा कार्यालयलाई हस्तान्तरण गर्न नसकेको वडा अध्यक्ष झक बुढाले जानकारी दिएका छन् ।
वडा नं. ३ का अध्यक्ष बुढाका अनुसार भवनमा सात वटा कोठा र एक वटा सभाहल निर्माण गरिएको छ । निर्माण कम्पनीले एक हप्ताभित्रै भवन हस्तान्तरण गर्ने दाबी गरे पनि भित्री संरचनाको काम पूरा गर्न अझै करिब एक महिना लाग्ने अनुमान गरिएको अध्यक्ष बुढाले जानकारी दिए ।
नौ आना जग्गामा निर्माण गरिएको उक्त भवनको सभाहल करिब २०० सिट क्षमताको रहेको छ । “यो भवन नितान्त वडा कार्यालयको प्रयोजनका लागि तयार गरिएको हो,” अध्यक्ष बुढाले भने, “भोलि आवश्यक परेमा वडासँग सम्बन्धित अन्य कार्यालयहरू पनि यहीँबाट सञ्चालन गर्न सकिन्छ।”
तमानखोला गाउँपालिका अन्तर्गतका ६ वटै वडामध्ये यो भवनलाई सबैभन्दा आकर्षक संरचनाका रूपमा हेरिएको छ । यसअघि गाउँपालिका भित्रकै वडा नं. ५ खुङखानीले मात्रै आफ्नै भवनबाट सेवा दिँदै आएको छ भने वडा नं. ६ नर्जाखानीको वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको छ । अन्य वडाहरूले भने हालसम्म आफ्नै भवन निर्माण गर्न सकेका छैनन् ।
नयाँ वडा कार्यालय भवन सञ्चालनमा आएपछि वडा नं. ३ का सेवाग्राहीले एकै छानामुनि सहज, व्यवस्थित र प्रभावकारी सेवा पाउने अपेक्षा रहेको अध्यक्ष बुढाको भनाई छ।




































