National life
cg eloctronics

भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव

हवाई रुट, विद्युत् र व्यापार : बालेनको भारत भ्रमणका आर्थिक उपलब्धि कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
3.8kShares
भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव
muktinatha bikash bank

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएका समझदारी र घोषणालाई लिएर अर्थविद् डा. चन्द्रमणि अधिकारीले तत्काल उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । भारतसँग विगतमा पनि विभिन्न समझदारी र सहमति भए पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले यसपटकका प्रतिबद्धता व्यवहारमा उतारिएपछि मात्रै उपलब्धिको मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आर्थिक भ्वाइससँगको कुराकानीमा अर्थविद् अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणलाई सद्भावना भ्रमणका रूपमा व्याख्या गर्दै आर्थिक दृष्टिकोणबाट हवाई रुट, भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँको सहयोग र ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयलाई महत्वपूर्ण रूपमा औंल्याएका छन् ।

हवाई रुटमा सहमति सकारात्मक, कार्यान्वयनको चुनौती

अधिकारीका अनुसार भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति सकारात्मक पक्ष हो । तर, यसअघि पनि भारतले सन् २०१६ मा तीनवटा हवाई रुटका लागि सैद्धान्तिक सहमति जनाए पनि एक दशकसम्म कार्यान्वयन हुन नसकेको उनले स्मरण गराए ।

भारतले यसअघि सहमति जनाए पनि आवश्यक मापदण्ड नबनाउँदा प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ । अब पनि आवश्यक प्रक्रिया छिटो पूरा गरी सहमति कार्यान्वयनमा ल्याउन सके मात्रै त्यसको वास्तविक लाभ नेपालले पाउने उनले बताए ।

everest bank

२ खर्ब ४० अर्बको सहयोगमा ७५ प्रतिशत ऋण, २५ प्रतिशत अनुदान

भारतले नेपाललाई दिने भनिएको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोगमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रहेको विषयप्रति अधिकारीले विशेष चासो व्यक्त गरेका छन् ।

उनका अनुसार उक्त रकम पूर्ण अनुदान भएको भए नेपालका लागि ठूलो उपलब्धि हुन सक्थ्यो । तर, ऋणको हिस्सा बढी रहेकाले त्यससँग जोडिने सर्त र कार्यान्वयन प्रक्रियाबारे स्पष्ट हुन आवश्यक छ ।

उनले २०७५ सालको भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको उदाहरणसमेत दिएका छन् । त्यतिबेला ७५ करोड डलर लाइन अफ क्रेडिट र २५ करोड डलर अनुदान दिने भनिएको थियो । तर, निर्माणमा प्रयोग हुने वस्तु तथा सेवा भारतकै हुनुपर्ने सर्त राखिएको र सन् २०२५ सम्म बल्लतल्ल अनुदान प्राप्त भए पनि ऋणको रकम भने नआएको उनले बताए ।

नेपालको पुँजीगत खर्च गर्ने क्षमता कमजोर रहेको अवस्थामा थप ऋण लिएर मात्रै उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको विश्लेषण छ । सरकारले बजेटमा ४०० अर्ब रुपैयाँ पुँजीगत खर्च विनियोजन गरे पनि २०० अर्ब रुपैयाँसमेत खर्च गर्न नसकेको अवस्थाले पनि सहयोग परिचालनको चुनौती देखाउने उनले बताए ।

विद्युत् निर्यात र पञ्चेश्वर आयोजना अझै अन्योलमा

ऊर्जा क्षेत्रको सहकार्यमा पनि नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको अधिकारीको टिप्पणी छ । बंगलादेशमा ठूलो परिमाणमा विद्युत् निर्यात गर्ने विषयमा भारतले पर्याप्त चासो नदेखाएको र भारतले खरिद गर्ने विद्युत्मा समेत भारतीय कम्पनीले उत्पादन गरेको बिजुलीलाई प्राथमिकता दिने अवस्था रहेको उनले बताए ।

पञ्चेश्वर जलविद्युत् आयोजनाको विषयमा पनि उनले प्रश्न उठाएका छन् । तीन दशक बितिसक्दा पनि आयोजना अघि बढ्न नसकेको भन्दै नेपालले आफ्नो हितअनुकूल नभएका सम्झौताका प्रावधान पुनरावलोकन गर्न सक्नुपर्ने उनको भनाइ छ ।

भारतले पानीको उपयोगसम्बन्धी आफ्नो हित सुरक्षित गर्न खोजेको तर विद्युत् उत्पादनको विषयमा अपेक्षित चासो नदेखाएको उनको विश्लेषण छ । पञ्चेश्वर आयोजना अघि बढाउन निर्देशन दिने कुरा मात्रै पर्याप्त नहुने भन्दै त्यसका लागि निश्चित समयसीमा र कार्ययोजना आवश्यक रहेको उनले बताए ।

८ बुँदे समझदारीमा ठूला विषय कार्यान्वयन हुनेमा आशंका

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा भएको ८ बुँदे समझदारीका विषयमा पनि अधिकारीले कार्यान्वयन पक्षलाई मुख्य रूपमा हेर्नुपर्ने बताएका छन् ।

उनका अनुसार समझदारीमा समेटिएका साना विषय भारतले पूरा गरे पनि ठूला र रणनीतिक महत्वका विषयमा विगतमा पनि अपेक्षित प्रगति हुन सकेको छैन । नेपालले पूर्वाधार निर्माण, उत्पादन वृद्धि, प्राविधिक शिक्षा विस्तार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, निर्यात प्रवर्द्धन र कनेक्टिभिटी विस्तारमा ध्यान दिनुपर्नेमा आर्थिक सहयोगको रकममै बढी आकर्षित हुने प्रवृत्ति रहेको उनको टिप्पणी छ ।

नेपाल र भारतबीच विश्वासको संकटसमेत रहेको उल्लेख गर्दै उनले दुवै देशले आफ्नो नियत स्पष्ट पार्नुपर्ने बताए । समझदारीमा विषय समेट्नु मात्रै पर्याप्त नहुने भन्दै कहिलेसम्म र कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने उनको जोड छ ।

नेपाली वस्तुको निर्यात सहज बनाउन भारतसँग ठोस पहल आवश्यक

अधिकारीले नेपालका उत्पादनको भारतीय बजारमा निर्यात सहज बनाउने विषयलाई पनि भ्रमणको महत्वपूर्ण आर्थिक एजेन्डा बनाउनुपर्ने बताएका छन् ।

नेपालबाट चिया, जुट, अलैंची, फलफूललगायत वस्तु निर्यात गर्दा विभिन्न समयमा कठिनाइ आउने गरेको भन्दै त्यसको समाधानका लागि ठोस पहल हुनुपर्ने उनको भनाइ छ ।

नेपालले भारतबाट आयात मात्रै गर्ने र निर्यात न्यून गर्ने अवस्था कायम रहे व्यापार घाटा घटाउन नसकिने उनले बताए । त्यसका लागि नेपालभित्रै वस्तु उत्पादन गर्ने वातावरण निर्माण, औद्योगिक क्षेत्रको विकास र उत्पादन लागत घटाउने नीतिमा जोड दिनुपर्ने उनको सुझाव छ ।

सन् १९९६ को सन्धिअनुसार अपेक्षित रूपमा व्यापार तथा निर्यात विस्तार हुन नसक्नुका कारण खोज्दै त्यसको पुनरावलोकन गर्नुपर्ने पनि उनले बताए । समझदारीमा व्यापार विस्तारका विषय उल्लेख भए पनि त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट समयसीमा र कार्ययोजना नदेखिएको उनको टिप्पणी छ ।

भारतसँगको सहकार्यबाट दुवै देशलाई लाभ पुग्नुपर्छ

भारतसँग विगतमा भएका समझदारी कार्यान्वयन हुन नसक्नुमा भारत मात्रै जिम्मेवार नरहेको अधिकारीको भनाइ छ । नेपालका सरकारहरू पनि त्यसका लागि उत्तिकै जिम्मेवार रहेको उनले बताए ।

नेपालले उद्योग, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर भारतसँग सहकार्य गर्न सके दुवै देशलाई लाभ पुग्ने उनको तर्क छ । नेपाल भारतका लागि ठूलो बजारसमेत भएकाले व्यापार र आर्थिक सहकार्यका विषयलाई कूटनीतिक रूपमा प्रभावकारी ढंगले उठाउन सक्नुपर्ने उनले बताए ।

अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मक रूपमा लिन सकिने भए पनि तत्काल ठूलो उपलब्धिको अपेक्षा गर्नुभन्दा भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन भए–नभएको हेर्नुपर्नेमा जोड दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?