काठमाडौं । विश्वका सर्वाधिक धनाढ्य तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सका दुई कित्ता सेयर उपहार दिने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत पोस्ट गर्दै मस्कले यस्तो घोषणा गरेका हुन्। गत महिना गरेको प्रतिबद्धतालाई दोब्बर बनाउँदै उनले प्रत्येक बालबालिकालाई दुई कित्ता सेयर दिने बताएका छन्।
मस्कले आफ्नो पोस्टमा भनेका छन्, ‘अमेरिकाका प्रत्येक बालबालिकाले स्पेसएक्सका दुईवटा सेयर प्राप्त गर्नेछन्। एउटा कम्पनीको तर्फबाट र अर्को मेरो व्यक्तिगत तर्फबाट।’
यसअघि अक्टोबर १९ मा मस्कले आगामी वर्ष प्रत्येक बालबालिकालाई एक कित्ता सेयर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। त्यसबेला उनले यसलाई ‘धेरैमध्येको पहिलो सुरुवात’ भनेका थिए।
अमेरिकी जनगणना ब्युरोको अनुमानअनुसार हाल अमेरिकामा करिब ७ करोड २० लाख नाबालिग छन्। बुधबार बजार बन्द हुँदाको स्पेसएक्सको प्रतिकित्ता सेयर मूल्य १२७.४४ डलरका आधारमा प्रत्येक बालबालिकालाई दुई कित्ता सेयर वितरण गर्दा उपहारको कुल मूल्य करिब १८ अर्ब ३५ करोड डलर पुग्नेछ।
१८ अर्ब डलरभन्दा बढी मूल्यको यो सेयर उपहारले प्रविधि उद्यमी माइकल डेलले बालबालिकाका ‘ट्रम्प एकाउन्ट्स’का लागि गरेको यसअघिको कीर्तिमानी उपहार रकमलाई करिब तीन गुणाले उछिनेको छ।
स्पेसएक्समा मस्क स्वयंको स्वामित्वमा अर्बौँ कित्ता सेयर रहेको छ भने कम्पनीको कुल सेयर सङ्ख्या पनि अर्बौँमा छ। त्यसैले करिब १४ करोड कित्ता सेयर वितरण गर्दा मस्कको स्वामित्व वा अन्य लगानीकर्ताको हिस्सामा खासै ठूलो प्रभाव नपर्ने विश्लेषण गरिएको छ।
मस्कले सेयर उपहारको सङ्ख्या दोब्बर बनाउने घोषणा गरे पनि स्पेसएक्सको सेयर मूल्यमा भने गिरावट आएको छ। अक्टोबर १९ मा प्रतिकित्ता १४७.९६ डलर रहेको कम्पनीको सेयर मूल्य नोभेम्बर २५ मा घटेर १२७.४४ डलरमा झरेको छ। यो करिब १३ प्रतिशतको गिरावट हो।
पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित प्रविधि कम्पनीहरूको सेयरमा व्यापक बिक्री चाप देखिएको छ। त्यसको प्रभाव स्पेसएक्सको सेयर मूल्यमा समेत परेको हो।
बालबालिकाको भविष्यका लागि सेयर प्रदान गर्ने स्पेसएक्सको यो पहिलो पहल भने होइन। यसअघि गत जुलाईमा कम्पनीकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) ग्विन शटवेलले पनि संघीय बचत तथा लगानी कार्यक्रम ‘ट्रम्प एकाउन्ट्स’अन्तर्गत २० लाख खातामा प्रतिखाता एक कित्ता स्पेसएक्स सेयर उपहार दिने घोषणा गरेकी थिइन्।
मस्कको पछिल्लो घोषणाअनुसार उनी र स्पेसएक्सले कर-सुविधाप्राप्त तिनै ‘ट्रम्प एकाउन्ट्स’मार्फत अमेरिकाका ७ करोडभन्दा बढी बालबालिकालाई सेयर हस्तान्तरण गर्ने लक्ष्य राखेका छन्।
यद्यपि, थप गरिएको दोस्रो कित्ता सेयर वितरणको ठोस समयसीमाबारे मस्कले हालसम्म स्पष्ट मिति सार्वजनिक गरेका छैनन्।

































