काठमाडौं । सरकारले अर्थतन्त्र र पुँजीबजार सुधारका लागि नीतिगत घोषणा मात्र नभई व्यवहारमै काम गर्नुपर्ने आवश्यकता रहेको सेयर विश्लेषक तथा लगानीकर्ता तिलक कोइरालाले बताएका छन्। उनले वर्तमान सरकारले अर्थतन्त्र र पुँजीबजारलाई राम्रो दिशामा अघि बढाउने विश्वास व्यक्त गर्दै यो सरकारले गर्न नसक्ने काम केही नभएको बताएका हुन्।
आर्थिक भ्वाइससँगको कुराकानीमा कोइरालाले अर्थतन्त्र र पुँजीबजार देशको इन्जिन भएकाले यसको अवस्था बिग्रिए सरकार र देश दुवै अघि बढ्न नसक्ने बताए। अर्थतन्त्र र पुँजीबजारलाई राम्रो बनाउन नसके देश थप संकटतर्फ जाने उनको भनाइ छ।
‘यो सरकारले अर्थतन्त्र र पुँजीबजार राम्रो बनाउँछ भन्नेमा म चाहिँ ढुक्क छु। यो सरकारले गर्न नसक्ने काम केही पनि छैन भने यो सरकारले गरेन भने कसले गर्छ त ? अर्थतन्त्र र पुँजीबजार राम्रो बनाएन भने हामी रसातलतिर जाने हो,’ उनले भने।
सरकारलाई राजस्व आवश्यक रहेको र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने भएकाले आन्तरिक स्रोत परिचालनमा जोड दिनुपर्ने कोइरालाको धारणा छ। विदेशी ऋणले मात्रै देशको अर्थतन्त्र धान्न नसकिने भन्दै उनले देशभित्रैका नागरिकबाट स्रोत जुटाउने वातावरण बनाउनुपर्ने बताए।
उनका अनुसार अहिले पुँजीबजार त्रास र सशंकाको अवस्थामा छ। यस्तो अवस्थामा लगानीकर्तालाई भरोसा दिलाउँदै विश्वासमा लिएर अघि बढ्नुपर्ने आवश्यकता छ। सरकारले पुँजीबजारलाई विश्वासमा लिएर सुधारका काम गर्नेमा आफू आशावादी रहेको उनले बताए।
पछिल्लो समय सरकारले पुँजीबजारमैत्री नीति ल्याएको र धेरै राम्रा नीतिगत घोषणा गरेको उल्लेख गर्दै कोइरालाले ती घोषणालाई कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए। उनका अनुसार नीतिगत घोषणा गरेर मात्रै बजारमा विश्वास सिर्जना हुँदैन, त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ।
नीति कार्यान्वयन भए पलायन भएको पुँजी फर्किन्छ
नेपाली पुँजीबजारको समस्या समाधान गर्न सरकारले सक्रिय र अग्रसर भएर काम गर्नुपर्ने कोइरालाको भनाइ छ। घोषणा भएका नीति कार्यान्वयन हुन थालेपछि लगानीकर्तामा विश्वास बढ्ने र पलायन भएको पुँजीसमेत फर्किन सक्ने उनले बताए।
‘प्रोएक्टिभ भएर काम गर्नुपर्ने हो। नीतिगत घोषणा गरेर मात्रै हुँदैन। व्यवहारमा काम गर्न थाल्यौं भने जनतामा विश्वास सिर्जना हुने हो। घोषणा भएका नीतिहरू कार्यान्वयन हुन थाल्यो भने पलायन भएका पुँजीहरू रातारात फर्किन्छ,’ उनले भने।
तर, पछिल्लो समय सरकारले लगानीकर्तामा उत्साह जगाउनेभन्दा त्रास सिर्जना गर्ने काम गरिरहेको उनको टिप्पणी छ। विभिन्न व्यक्तिको पक्राउ, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र पुराना विषय खोतल्ने गतिविधिले लगानीकर्तालाई सशंकित बनाएको उनले बताए।
उनले भने, ‘एक्सनमा काम भएन, तर्साउने काम भयो। जस्तो, दिनहुँ मान्छे पक्राउ गर्ने काम भयो नि। ठूलठूला पदमा रहेका व्यक्तिहरू पक्राउका कुरा आयो। सम्पत्ति शुद्धीकरण भन्या छ, सीआईबीले जथाभावी पक्राउ गरिरहेको छ। पुरानो कुरा खोज्नतिर जब सरकार लाग्छ, अनि सबै मान्छे तर्सिन्छन्।’
कोइरालाका अनुसार नेपाली पुँजीबजार र अर्थतन्त्रको इन्जिनका रूपमा रहेका कांग्रेस र एमाले पृष्ठभूमिका उद्यमी तथा व्यवसायीहरू नै त्रसित भएपछि नयाँ लगानीको वातावरण प्रभावित हुन्छ। लगानीकर्तामा उत्साह जगाउनुपर्ने समयमा त्रासको वातावरण बन्नु अर्थतन्त्रका लागि सकारात्मक नभएको उनको भनाइ छ।
पुँजीबजारलाई सहज अवस्थामा फर्काउनुपर्ने
पुँजीबजार र अर्थतन्त्रलाई अहिलेको अत्यासलाग्दो अवस्थाबाट सहजतातर्फ लैजानुपर्नेमा कोइरालाले जोड दिएका छन्। सरकारले लगानीकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्ने र घोषित नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ।
सरकारले अर्थतन्त्र चलायमान बनाउने, आन्तरिक स्रोत परिचालन गर्ने र पुँजीबजारमा विश्वासको वातावरण सिर्जना गर्ने काम गर्न सके सुधार सम्भव रहेको उनको विश्वास छ।
‘यो सरकारले राम्रो गर्छ, गर्नुपर्छ र राम्रो हुन्छ भन्नेमा म ढुक्क छु,’ कोइरालाले भनेका छन्।



































