काठमाडौं । नेपाली बजारमा खसीबोका, बाख्रा तथा कुखुराको अभाव हुन थालेको भन्दै मासु व्यवसायीहरूले सरकारसँग अवैध रूपमा भारततर्फ भइरहेको पशुचौपायाको निर्यात रोक्न माग गरेका छन्। उनीहरूले सीमा नाकामा तत्काल कडाइ नगरिए मासुको मूल्य बढ्ने र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल मासु व्यवसायी संघ, चौपाया खरिदबिक्री संघ र नेपाल मुस्लिम मासु पसल संघका प्रतिनिधिहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
कार्यक्रममा अधिवक्ता ज्ञानेन्द्र दाहालले हिमाल, पहाड र तराईमा उत्पादित खसीबोका तथा बाख्रा नेपाली बजारमै खपत हुनुपर्ने भए पनि विभिन्न सीमा नाकाबाट भारततर्फ जाने गरेको आरोप लगाए। यसले स्वदेशी बजारमा पशुचौपायाको अभाव सिर्जना गर्नुका साथै मासुको मूल्य बढाउने र व्यवसायीको रोजीरोटी प्रभावित पार्ने उनको भनाइ छ।
उनका अनुसार झापाको काँकडभिट्टा, सुनसरीको भन्टाबारी, सिरहाको ठाडी, धनुषा, महोत्तरी, सर्लाही, कपिलवस्तुको कृष्णनगर, नेपालगञ्ज, बर्दियाको गुलरिया, धनगढी र दार्चुलालगायत दुई दर्जनभन्दा बढी नाकाबाट पशुचौपाया भारततर्फ जाने गरेका छन्।
दाहालले सीमा क्षेत्रमा रहेका जिल्ला प्रशासन, प्रहरी तथा भन्सार कार्यालयलाई सक्रिय बनाएर अवैध निर्यात नियन्त्रण गर्नुपर्ने बताए। यस विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको र उक्त कार्यालयले गृह मन्त्रालयसम्म विषय पुर्याएको उनको दाबी छ।
पूर्वाधारबिना मासु जाँचको कानुन कार्यान्वयन गर्न खोजेको आरोप
चौपाया खरिदबिक्री संघका केन्द्रीय अध्यक्ष सन्तोषबहादुर खत्रीले आवश्यक पूर्वाधार निर्माण नगरी सरकारले मासु जाँचसम्बन्धी कानुन कार्यान्वयन गर्न खोजेको भन्दै असन्तुष्टि जनाए।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ कार्यान्वयनको विरोध नरहेको स्पष्ट पार्दै उनले त्यसका लागि आवश्यक वधस्थल, वधशाला र पशु स्वास्थ्य परीक्षण केन्द्र निर्माण गर्नुपर्ने बताए।
‘सरकारले जाँच नभएको मासु नखानु भन्छ । तर जाँच कहाँ लगेर गराउने ? राज्यले न एउटा वधस्थल बनाउन सकेको छ, न एउटा वधशाला बनाउन सकेको छ,’ उनले प्रश्न गरे।
खत्रीले काठमाडौं उपत्यकामा व्यवस्थित चौपाया बजार तथा वधस्थल निर्माण गर्नुपर्ने मागसमेत गरे। उनका अनुसार काठमाडौंमा दुई, भक्तपुरमा एक र ललितपुरमा एक गरी कम्तीमा चारवटा व्यवस्थित बजार तथा वधस्थल आवश्यक छन्।
यस विषयमा बागमती प्रदेश सरकार, पशुसेवा विभाग, काठमाडौं महानगरपालिका तथा उपत्यकाका स्थानीय तहसँग समन्वय भइरहेको संघले जनाएको छ। व्यवस्थित पूर्वाधार निर्माण भए पशु स्वास्थ्य परीक्षण, रोग नियन्त्रण र मासुको गुणस्तर कायम गर्न सहज हुने खत्रीको भनाइ छ।
पशुचौपाया नपाउँदा पसल बन्द गर्नुपर्ने अवस्था
नेपाल मुस्लिम मासु पसल संघका काठमाडौं जिल्ला अध्यक्ष मंजुर मिया मोमीनले पनि बजारमा बिक्रीका लागि आवश्यक खसीबोका, बाख्रा, पाठी तथा कुखुरा पाउन कठिन हुन थालेको बताए।
उनका अनुसार पशुचौपाया अभावका कारण कतिपय मासु पसल बन्द भइसकेका छन् भने अन्य व्यवसायी पनि व्यवसाय छाड्नुपर्ने अवस्थामा पुगेका छन्।
मोमीनले यस विषयमा जिल्ला प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन तथा ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए। सरकारले तत्काल समस्या समाधान नगरे मंसिर १० गतेदेखि मासु पसल बन्द गर्ने चेतावनीसमेत उनले दिएका छन्।
व्यवसायीहरूले नेपाली बजारमा पशुचौपायाको आपूर्ति सुनिश्चित गर्न, अवैध निर्यात रोक्न र मासु जाँचका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेका छन्।

































