ललितपुर । आफूलाई गैरन्यायिक रूपमा हिरासतमा राखिएको र मानसिक यातना दिइएको भन्दै इनाम सापकोटाकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन्। चार पृष्ठ लामो उजुरीमार्फत सापकोटाले आफ्नो जीवनरक्षा तथा मानवअधिकारको संरक्षणका लागि पहल गरिदिन आयोगसँग माग गरेका छन्।
आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरीमा सापकोटालाई गत असोज १४ गते भारतको नयाँदिल्ली जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको उल्लेख छ। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचमा पुगेका बेला प्रहरीले उनका दुईवटा मोबाइल फोन खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको दाबी गरिएको छ।
उजुरीअनुसार असोज १४ देखि १५ गते साँझसम्म उनलाई आँखामा कालोपट्टी बाँधेर राखिएको थियो। सो अवधिमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको सापकोटाको आरोप छ।
ती व्यक्तिहरूविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने प्रलोभन देखाउनुका साथै बयान नदिए आफू र परिवारलाई समेत अप्ठ्यारोमा पार्ने तथा लामो समय जेल बस्नुपर्ने गरी झुटा मुद्दा लगाउने धम्की दिइएको उजुरीमा उल्लेख छ।
सापकोटाले आफूले कुनै गैरकानुनी काम नगरेको र सम्बन्धित व्यक्तिहरूबारे आफूलाई थाहा नभएका विषयमा बयान दिन नसक्ने अडान राखेको बताएका छन्। त्यसपछि प्रहरीले तयार पारेको कागज ठूलो स्वरमा पढ्न लगाएको तर आफूले नगरेको काममा हस्ताक्षर गर्न अस्वीकार गरेको उनको दाबी छ।
उजुरीमा प्रहरीले पढ्न लगाएका विषय रेकर्ड गरी सम्पादन गरेर सार्वजनिक गरेको आरोपसमेत लगाइएको छ। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूको सेटिङसँग जोडिएका भनिएका अडियोबारे आफन्त तथा प्रहरीको थप बयानका क्रममा जानकारी पाएको सापकोटाको भनाइ छ।
हस्ताक्षर गर्न नमानेपछि असोज १५ गते साँझ उनलाई आँखामा पट्टी र चश्मा लगाएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याई थुनामा राखिएको उजुरीमा उल्लेख छ।
त्यसको भोलिपल्ट असोज १६ गते बिहान हतकडी लगाएर दुईवटा सुटकेससहित पानीपोखरी हाइट होम्स अपार्टमेन्टस्थित निवासमा लगिएको र पाँच महिनाकी छोरी, पत्नी तथा जेठानहरूको उपस्थितिमा घरका कोठाहरू खानतलासी गरिएको सापकोटाको दाबी छ।
खानतलासीका क्रममा पुरानो ल्यापटप, मोबाइल र केही कागजात मात्र फेला परेको अवस्थामा बाहिर राखिएको सुटकेस भित्र ल्याएर साइड ब्यागबाट विदेशी मुद्रा निकालिएको र घरमै फेला परेको भन्दै मुचुल्का तयार पारिएको आरोप उजुरीमा छ। मुचुल्का तयार गर्दा पत्नीलाई पहिल्यै खाली कागजमा हस्ताक्षर गराइएको तथा दुई दिनअघि नै प्रहरीले नियन्त्रणमा लिएको आइफोनसमेत गलत रूपमा मुचुल्कामा समावेश गर्न खोजिएको दाबी गरिएको छ।
सापकोटाले विमानस्थलअगाडिको सार्वजनिक सडकमा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा आफूविरुद्ध झुटो मुद्दा चलाइएको जिकिर गरेका छन्। आफू विमानस्थलभित्रैबाट पक्राउ परेको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउन विमानस्थलको सीसीटीभी फुटेज र बोर्डिङ पास जाँच गर्न माग गरेका छन्।
त्यस्तै, आफूबाट एक हजार तीन सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको विषयमा कानुनी व्यवस्थाअनुसार नै विदेशी मुद्रा बोकेको जिकिर गरिएको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र २०८२ को विषय सूची नम्बर ९ अनुसार कानुन व्यवसायीले बहस गरेपछि थुनामा राख्ने उद्देश्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा थप गरिएको आरोप पनि उजुरीमा लगाइएको छ।
प्रहरी नियन्त्रणमा रहेका बेला आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको पहुँचमा राखेर छेडछाड गरिएको र कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी सिर्जना गरिएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको जानकारी पाएको सापकोटाले उल्लेख गरेका छन्।
अनुसन्धान पूरा नहुँदै र आरोप प्रमाणित नहुँदै आफूलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिएर समाचार सार्वजनिक गरिएको भन्दै उनले मिडिया ट्रायलमार्फत आफ्नो प्रतिष्ठामा क्षति पुर्याइएको आरोप लगाएका छन्। यस क्रममा पत्नीलाई समेत लाञ्छना लगाइएको उनको दाबी छ।
उजुरीमा यस्ता गतिविधिले नेपालको संविधानको धारा २० ले सुनिश्चित गरेको न्यायसम्बन्धी हकअन्तर्गत निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइको अधिकार तथा धारा २८ को गोपनीयताको हक उल्लंघन भएको जिकिर गरिएको छ।
उजुरी अध्ययनपछि प्रक्रिया अघि बढाउने आयोगको भनाइ
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले सापकोटाको परिवारका सदस्यले पेस गरेको उजुरी विधिवत् दर्ता भएको पुष्टि गरेका छन्।
नेपाल प्रेससँग कुरा गर्दै खरेलले कार्यालय समय सकिने बेलातिर परिवारका सदस्य उजुरी लिएर आएको र अध्यक्षसमक्ष पेस गरेपछि दर्ता गरिएको जानकारी दिए।
उनले आफूले उजुरीको विषयवस्तु अध्ययन गर्न बाँकी रहेको बताउँदै आयोगको क्षेत्राधिकारभित्र मानवअधिकार उल्लंघनको विषय देखिए आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार कार्यालय खुलेपछि उजुरी अध्ययन गरी थप कारबाहीबारे निर्णय गरिनेछ।
यता, उजुरीमा उल्लेख गरिएको सापकोटाकी पत्नीको फोन नम्बरमा सम्पर्क गर्दा उनले यस विषयमा बोल्न चाहिनन्। उनले उक्त नम्बर आफ्नो नभएको दाबी गरिन्।
नोट: उजुरीमा उल्लेख गरिएका आरोपहरू निवेदक पक्षका दाबी हुन्। ती आरोपबारे सम्बन्धित प्रहरी निकाय तथा आरोपित पक्षको आधिकारिक प्रतिक्रिया यस विवरणमा समावेश छैन।




































