काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत् कम्पनीले कुल ८० लाख ७७ हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेका छन्। मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गर्न बोर्डमा आवेदन दिएका हुन्।
मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ।
त्यस्तै, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटलले पाएको छ।
दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेका छन्।






























