काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजीबजारलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले मार्जिन लेण्डिङ प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। योग्य लगानीकर्ताले आफ्नो पूँजीसँगै धितोपत्र दलाल व्यवसायीबाट ऋण लिएर सेयरमा लगानी गर्न सक्ने व्यवस्था ल्याउन बोर्डले नियमावलीको मस्यौदा तयार गरेको हो।
बोर्डका अनुसार मार्जिन लेण्डिङसँगै आगामी चरणमा इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट–सेलिङजस्ता आधुनिक बजार प्रणालीसमेत कार्यान्वयन गर्ने तयारी छ। यी व्यवस्था लागू भएपछि नेपालको पूँजीबजार अन्तर्राष्ट्रिय अभ्याससँग थप नजिक पुग्ने अपेक्षा गरिएको छ।
मार्जिन ऋण कारोबारसम्बन्धी मस्यौदा बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एशोसिएशनका प्रतिनिधि सम्मिलित समितिमा छलफल गरी तयार पारिएको हो। अहिले मस्यौदा सरोकारवालाको राय तथा सुझावका लागि सार्वजनिक गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार नेपाली नागरिकता प्राप्त बालिग व्यक्ति तथा नेपालमा कानुनबमोजिम दर्ता भएका संस्थाले मार्जिन ऋण सुविधा लिन सक्नेछन्। तर, ऋण सुविधा दिनुअघि सम्बन्धित प्रदायक संस्थाले ग्राहकको वित्तीय क्षमता, लगानी उद्देश्य, जोखिम वहन क्षमता र समग्र उपयुक्तताको मूल्याङ्कन गर्नुपर्नेछ।
मार्जिन कारोबारमा अत्यधिक वित्तीय जोखिम नियन्त्रण गर्न प्रारम्भिक मार्जिन, सम्भार मार्जिन, ऋण सीमा तथा लगानी एकाग्रता सीमा तोक्ने प्रस्ताव गरिएको छ। दैनिक बजार मूल्यअनुसार मूल्याङ्कन तथा स्वचालित मार्जिन कलको व्यवस्था गरी जोखिमको निरन्तर निगरानी गर्ने मस्यौदामा उल्लेख छ।
त्यस्तै, ग्राहकको नगद तथा धितोपत्र छुट्टै सुरक्षित राख्ने, मार्जिन ऋण प्रदायक संस्थामा पर्याप्त पुँजी, तरलता, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रचलित कानुनअनुसार धितोपत्र कारोबार गर्न अयोग्य, गम्भीर रूपमा ऋण दायित्व उल्लङ्घन गरेका, उच्च जोखिमयुक्त वा प्रतिबन्धित ग्राहक तथा धितोपत्रसम्बन्धी कसुरमा सजाय पाएको पाँच वर्ष पूरा नभएका व्यक्ति वा संस्थाले भने मार्जिन ऋण सुविधा पाउने छैनन्।
बोर्डले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा मस्यौदा परिमार्जन गरी अन्तिम नियमावली कार्यान्वयनमा ल्याउने जनाएको छ।
































