काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर व्यवसायको पुनर्संरचना, नेप्सेको प्राविधिक सुधार र प्राथमिक बजारका नीतिगत व्यवस्थालाई समेटेर पुँजी बजार सुधारको योजना अघि बढाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।
बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ।
सुधारका क्रममा अवधारणापत्र तयार गर्ने, सरोकारवालासँग छलफल गर्ने, सार्वजनिक परामर्शमार्फत सुझाव लिने र त्यसपछि नीतिगत व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अपनाइने बोर्डले जनाएको छ।
प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायत विषयमा सुधारका नीति तयार भइसकेका छन्।
दोस्रो बजारतर्फ ब्रोकर व्यवसायको पुनर्संरचनालाई प्राथमिकता दिइएको छ। ब्रोकर कम्पनीलाई क्षमता र कार्यक्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरी स्टक डिलरसिपसहितको संरचनामा लैजाने योजना बोर्डको छ।
यस्तै, नेप्सेको ट्रेडिङ तथा अर्डर व्यवस्थापन प्रणाली, साइबर सुरक्षा र सूचना प्रविधि संरचना सुधारका लागि करिब ३१–३२ वटा नियामकीय व्यवस्था तयार गरिएको अध्यक्ष भट्टले बताए।
सरकारी स्वामित्वका संस्थाबीचको समन्वय तथा क्षेत्राधिकारसँग सम्बन्धित समस्या समाधान गर्दै नेप्सेको संस्थागत र प्राविधिक क्षमता बढाउने योजना पनि बोर्डले अघि सारेको छ।
































