काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या बढ्दै गएको छ । पछिल्लो समय थप तीन कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।
बोर्डमा निवेदन दिने कम्पनीमध्ये लगानी समूहका दुई र उत्पादन तथा प्रशोधन समूहको एक कम्पनी रहेका छन् । लगानी समूहअन्तर्गत नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन लिमिटेड र वैदिक इन्भेष्टमेन्ट कम्पनी रहेका छन् भने उत्पादन तथा प्रशोधन समूहबाट सौर्य कृषि कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेको हो ।
तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसनले १५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि भदौ ४ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, वैदिक इन्भेष्टमेन्ट कम्पनीले २८ करोड ३५ लाख रुपैयाँ बराबरको २८ लाख ३५ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ । कम्पनीले भदौ ५ गते बोर्डमा निवेदन दिएको हो । वैदिक इन्भेष्टमेन्टको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
यसैगरी, उत्पादन तथा प्रशोधन समूहअन्तर्गतको सौर्य कृषि कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै भदौ १८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
तीनवटै कम्पनीको प्रस्तावित आईपीओ निष्कासनबाट कुल ६० लाख ८५ हजार कित्ता सेयर बजारमा थपिनेछ । यी कम्पनीले अनुमति पाएपछि निष्कासन प्रक्रिया अघि बढाउनेछन् ।
































