काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, सरल, छरितो तथा प्रविधिमैत्री बनाइएको जनाएको छ। बीमा क्षेत्रलाई पारदर्शी, विश्वसनीय र बीमितमैत्री बनाउन विभिन्न नियामकीय तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको हो।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रबमोजिम बीमकले तोकिएको समयावधिभित्र बीमा दाबी फर्छ्योट गर्नुपर्ने व्यवस्था छ। बीमितको पहुँच सहज बनाउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत आवश्यक सहजीकरण र सेवा प्रदान भइरहेको पनि सूचनामा उल्लेख छ।
त्यस्तै, बीमक, कर्मचारी वा सर्भेयरले विद्यमान नीतिगत व्यवस्थाविपरीत दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बीमितले नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सक्नेछन्। त्यसका लागि सम्बन्धित प्रमाणसहित प्राधिकरणसमक्ष गुनासो राख्न सकिने व्यवस्था रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
यसैगरी, हेलो सरकारमार्फत प्राप्त हुने बीमासम्बन्धी गुनासोलाई समेत यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।































