न्युयोर्क । अमेरिकामा क्रेडिट कार्डको चर्को ब्याजदर नियन्त्रण गर्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। यसका लागि उनले डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन्।
यसअघि आफ्नै दल रिपब्लिकनका सांसदबाट पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको उक्त प्रस्ताव अब संसद्का दुवै सदनमा डेमोक्रेटिक नेतृत्व कायम हुने अपेक्षासँगै अघि बढ्ने ट्रम्पको विश्वास छ।
शनिबार फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको टिप्पणी गरे। न्युयोर्क फेडरल रिजर्भका अनुसार अमेरिकामा क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ।
क्रेडिट कार्डको ब्याजदरमा सीमा तोक्ने प्रस्तावलाई सिनेटर एलिजाबेथ वारेन, प्रतिनिधि म्याक्सिन वाटर्स र रिपब्लिकन सिनेटर जोस हाउलीलगायतले पनि समर्थन गरेका छन्।
यद्यपि, बैंक तथा क्रेडिट कार्ड कम्पनीहरूले ब्याजदरमा सीमा तोक्दा कम आय भएका र कमजोर ऋण इतिहास भएका ग्राहकलाई कार्ड उपलब्ध गराउन कठिन हुने चेतावनी दिएका छन्। साथै, कार्डसँग जोडिएका पुरस्कार तथा अन्य सुविधासमेत कटौती गर्नुपर्ने उनीहरूको तर्क छ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रस्ताव कार्यान्वयन भए उपभोक्ताले वार्षिक अर्बौं अमेरिकी डलर बचत गर्न सक्नेछन्। यसले क्रेडिट कार्ड उद्योगको नाफामा असर पारे पनि उद्योगलाई घाटामा पुर्याउने अवस्था नआउने उनीहरूको निष्कर्ष छ।
उपभोक्ता वित्तीय संरक्षण ब्यूरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो। उनीहरूले सोही वर्ष ब्याजबापत एक खर्ब ६० अर्ब अमेरिकी डलर तिरेका थिए।
त्यस्तै, न्युयोर्क फेडरल रिजर्भका अनुसार गत वर्षको तेस्रो त्रैमासिकसम्म अमेरिकीहरूको क्रेडिट कार्ड ऋण १२ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको थियो। यो हालसम्मकै उच्च हो।

































