काठमाडौं । बाढीपहिरोका कारण नेपालका विभिन्न प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध भइरहेका बेला इलोन मस्कको स्टारलिङ्कले विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। कम्पनीले नेपाल सरकारको अनुमति पाएलगत्तै उपकरण पठाएर सेवा सञ्चालन गर्न तयार रहेको जनाएको छ।
स्टारलिङ्कले शनिबार सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै नेपाल सरकार तथा मानवीय सहायता र उद्धारमा संलग्न निकायलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको जनाएको हो।
कम्पनीले नेपाल सरकारबाट अनुमति प्राप्त हुनेबित्तिकै प्रभावित क्षेत्रमा स्टारलिङ्कका उपकरण पठाएर निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्न सकिने जनाएको छ।
बाढी तथा पहिरोका कारण सडक, पुल र परम्परागत सञ्चार सञ्जालमा क्षति पुगेका बेला वैकल्पिक सञ्चार माध्यमका रूपमा स्टारलिङ्कको सेवा प्रभावकारी हुन सक्ने कम्पनीको भनाइ छ। विशेषगरी उद्धार तथा खोजी अभियानमा खटिएका टोली, घाइतेको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा प्रभावित परिवारका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा खटिएका टोलीबीच समन्वय गर्न, स्वास्थ्यकर्मी तथा चिकित्सकीय टोलीलाई आवश्यक सञ्चार कायम राख्न र सम्पर्कविहीन आफन्तसँग जोडिन प्रयास गरिरहेका परिवारलाई सञ्चार सुविधा उपलब्ध गराउन स्टारलिङ्कको इन्टरनेट उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ।
स्टारलिङ्कका अनुसार यसको उपकरण जडान गर्न धेरै समय लाग्दैन। उपकरणलाई बक्सबाट निकालेर केही मिनेटमै सञ्चालन गर्न सकिने र सेवा सञ्चालनका लागि विद्युत् आपूर्ति तथा उपकरणले खुला आकाश देख्न सक्ने अवस्था आवश्यक पर्ने कम्पनीले जनाएको छ।
नेपालमा बाढी तथा पहिरोका कारण कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भइरहेका बेला स्टारलिङ्कले निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको हो।

































