काठमाडौँ। भदौ २३/ २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा हालसम्म ९ करोड ३० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ।
सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। अर्थ मन्त्रालयका अनुसार हालसम्म व्यक्तिहरूबाट सबैभन्दा बढी डेढ करोड रुपैयाँसम्मको सहयोग प्राप्त भएको छ भने संस्थाबाट सहयोग कम आएको मन्त्रालयले जनाएको छ।
प्रदर्शनका क्रममा सरकारी र निजी दुवै क्षेत्रमा ठूलो क्षति भएको छ।
सरकारको अध्ययन अनुसार तोडफोड, लुटपाट र आगजनीका क्रममा सवा ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार देशभर सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र घरानामा ८० अर्ब २२ करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति देखिएको छ।
क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले मंगलबार प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै, सरकारले अनुमान गरेको करिब १ खर्ब रुपैयाँको क्षति भन्दा करिब २० अर्ब कम देखिएको तथ्यांक उपलब्ध गराएको छ। कुल सवा ८० अर्बको क्षतिमा निजी क्षेत्रको ३९ अर्ब, संघीय सरकारको २८ अर्ब, प्रदेशको ४ अर्ब र स्थानीय तहमा ९ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना तथा उद्योग व्यवसायको क्षति भएको प्रारम्भिक विवरण उपसमितिले सार्वजनिक गरेको छ।
सरकारले पुनर्निर्माणको लागि आवश्यक कदम अघि बढाएको र आगामी समयमा थप अध्ययन तथा क्षति मूल्यांकन पछि कोषमा सहयोग जुटाउन आह्वान गर्ने बताएको छ।

































