National life
cg eloctronics

समाजसेवी स्व.ओमप्रकाश गोयलको सम्मानमा दश रुपैयाँको हुलाक टिकट सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०९ पुस २०८२, बुधबार
998Shares
समाजसेवी स्व.ओमप्रकाश गोयलको सम्मानमा दश रुपैयाँको हुलाक टिकट सार्वजनिक
ncell

काठमाडौँ। प्रतिष्ठित उद्योगी एवं समाजसेवी स्व. ओमप्रकाश गोयलको स्मृतिमा दश रुपैयाँको हुलाक टिकट सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागको आयोजना तथा गोयल फाउन्डेशनको सहआयोजनामा मंगलबार साँझ राजधानीमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्व. गोयलको फोटो अंकित १० रुपैयाँको हुलाक टिकट सार्वजनिक गर्नुभएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो समारोहमा मन्त्री खरेलले स्व. गोयलले समाजका लागि पुर्याउनुभएको योगदानको स्मरण गर्दै भौतिक शरीर नरहेपनि उहाँको कर्मले स्व. गोयललाई अमर बनाएको बताउनुभयो । “बाँच्नुको सार्थकता अरूलाई गर्ने सहयोगले पूर्ण गराउँछ । अरूका लागि बाँच्ने नै प्रतिष्ठित हुन्छ, अमर हुन्छ” मन्त्री खरेलले भन्नुभयो, “स्व. गोयलले अरुका लागि गर्नुभएको योगदानले नै उहाँ हुलाक टिकटमा टाँसिनुभएको छ । समाजका लागि गर्नुभएको कामले नै उहाँलाई अमर बनाएको छ ।”

समारोहको अध्यक्षता गर्नुभएकी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनीले स्व. ओमप्रकाश गोयलले समाजका लागि गर्नुभएको योगदानको कदर गर्दै उहाँको नाम र फोटो अंकित हुलाक टिकट प्रयोगमा ल्याएको बताउनुभयो । यस कार्यमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा गोयल फाउण्डेशनका अध्यक्ष कैलाशचन्द्र गोयलले आफ्ना पिता स्व. गोयलले समाज सेवामा गर्नुभएको योगदानका विषयमा चर्चा गर्दै संस्थापक स्वर्गीय ओम प्रकाश गोयलको ज्ञान, सीप र अनुभव एवं मार्गदर्शन अनुरुप गोयल ग्रुप अगाडि बढिरहेको बताउनुभयो । उहाँले स्व. गोयल खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सधै सक्रिय रहने गर्नुभएको स्मरण गर्नुभयो ।

विद्यालय भवन, गौशाला निर्माण, विभिन्न मठ–मन्दिरहरुको स्थापना, विभिन्न सामाजिक कार्यका लागि आवश्यक पर्ने भवन निर्माणमा स्व. गोयलले योगदान गर्नुभएको उहाँले जानकारी गराउनुभयो । उहाँले आफ्ना स्व. बुवाले जीवनकालमा गर्नुभएको सेवाको सम्मान गर्दै उहाँको कार्यलाई स्थापित गराइदिने सरकार र हुलाक सेवा विभागप्रति गोयल परिवार सधैं ऋणी रहने बताउनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, नेपाल फिलाटेलिक सोसाईटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ, गोयल फाउण्डेसनका महासचिव चिराग गोयल,

हुलाक सेवा विभागका शाखा अधिकृतद्धय चन्द्रा थापा र पूर्ण कला लिम्बूले स्व. गोयलको सम्झना गर्दै मन्तव्य दिनुभएको थियो ।

स्व. ओमप्रकाश गोयलको चिनारी :

कर्मठ समाजसेवी (वि.सं.२००१–वि.सं.२०६४)

पिता स्व. फुलचन गोयल र माता स्व. सरस्वतीदेवी गोयलका सुपुत्र ओमप्रकाश गोयलको जन्म २००१ सालमा भारतको हरियाणामा भएको हो । हरियाणबाटै मेट्रिक उत्तीर्ण गर्नुभएका ओमप्रकाश २०१८ सालमा नेपाल प्रवेश गर्नुभएको थियो । झापाको भद्रपुरमा रहेको सगरमाथा राइस मिलमा सुरुवाती केहीवर्ष जागिर खानु भएका ओमप्रकाशले २०२० सालमा भद्रपुर बजारमा व्यवसाय सुरु गर्नुभयो । भद्रपुरमा करिब ११ वर्ष किराना पसलको होलसेल सञ्चालन गरेपछि २०३१ सालमा झापाकै बुधबारे बजार बसाइँ सर्नुभएका उहाँले बुधबारेलाई नै कर्मथलो बनाउनुभयो । व्यवासयिक यात्राको सुरुवाती दिनमा उहाँले स्थापना गर्नु भएको गोयल राइस मिल बुधबारेमा ५० वर्षदेखि निरन्तर सञ्चालनमा छ ।

व्यापार व्यवसायमा आफूलाई स्थापित गराएपछि ओमप्रकाशले आम्दानीको केही हिस्सा छुट्याउँदै समाज सेवामा ध्यान केन्द्रित गर्नुभयो । बुधबारे बजारमा अनेकन सामाजिक समस्या झेल्दै निजी खर्चमा हनुमान मन्दिर बनाउनु भयो । आफू संरक्षक बसेर सञ्चालनको जिम्मा स्थानीय समाजसेवीहरूलाई दिनुभयो । मन्दिरकै मातहत रहनेगरी आफ्नै खर्चमा दुई वटा एम्बुलेन्स खरिद गरी सेवामा परिचालन गर्नुभयो । उक्त एम्बुलेन्स निजी क्षेत्रबाट सञ्चालन भएको नेपालकै पहिलो हो ।

बुधबारे बजारकै पुरानोमध्येको एक राम–जानकी मन्दिर निर्माणमा सहयोग पुर्याउनु भएका उहाँले बुद्ध आदर्श माविमा भवन निर्माण, शौचालय निर्माण र खानेपानीको व्यवस्थापन गरिदिनुभयो । बुधबारेमा रहेको बाल विकास केन्द्रको भवनलाई व्यवस्थित बनाउँदै उहाँले कम्पाउण्ड घेराबेरामा सहयोग गर्नुभयो । तत्कालिन बुधबारे गाविसमा स्वास्थ्य, शिक्षा, खानेपानी, धार्मिक र सामाजिक क्षेत्रको सुधारका लागि उहाँले गर्नुभएको पहल आगामी वर्षौसम्म पनि अविश्मरणीय रहनेछ ।

सामाजिक अभियन्ताको पहिचान बनाउनुभएका स्व. ओमप्रकाश गोयलले बिर्तामोडमा मारवाडी सेवा समिति र अग्रसेन भवन निर्माण तथा बिर्ता बजारमा नेत्रहिन सेवा संघको भवन शिलान्यास गरी निर्माणमा सहयोग गर्नुभयो ।

आफ्नो व्यापार व्यवसायलाई काठमाडौंमा पनि विस्तार गर्दै ओमप्रकाशले २०४७ सालमा बौद्ध रामहिटीमा गणपति उलन उद्योग सञ्चालनमा ल्याउनुभयो । गोयल ग्रुप स्थापना गरी आफ्नो व्यवसाय र सेवालाई संस्थागत गर्दै उहाँले शतपरमेश्वर धाम, चन्द्रगढीमा रहेको वेद विद्याश्रम, पशुपति गौशालामा धर्मशाला निर्माण, अग्रसेन भवन, मारवाडी सेवा भवन, गौशाला धर्मशाला, नेपाल राष्ट्रिय मारवाडी परिषद् भवनमा सहयोग गर्नुभयो ।

स्वर्गीय गोयलले उनी धागो उद्योग, पश्मिना उद्योग, हेन्डीक्राफ्ट्स, ध्यू तथा तेल उद्योग, राइस मिल, केमिकल इन्डस्ट्रिजलगायत स्थापना र सञ्चालन गर्नुभएको थियो । परोपकार नै धर्म हो भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै ओमप्रकाशले उद्योग, व्यापार र सेवालाई सँगै अगाडी बढाउनुभयो । उहाँको महाप्रस्थानपछि छोरा तथा नातिहरूले ओमप्रकाशको सम्झनामा गोयल फाउण्डेशन स्थापना गरेर कोरोनासहितका महामारी, महाभूकम्प, बाढीपहिरोलगायत विपदका पीडितलाई सहयोग गर्दै आएका छन् ।

ओमप्रकाशले नै स्थापना गरेको गोयल ग्रुपलाई थप सशक्त बनाउँदै उनीहरुले वैंक, बिमा कम्पनी, हाउजिङ व्यवसाय, जलबिद्युत आयोजना, पेन्ट उद्योगलगायत सञ्चालन गरिरहेका छन् । देशको औद्योगिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका यी संस्थामा हजारौंले रोजगारी पाएका छन् ।

समाजसेवी एवं उद्योगी ओमप्रकाश गोयलको स्वर्गारोहण २०६४ साल चैत १४ गते हृदयघातका कारण भएको हो ।

नेपालको सामाजिक, शैक्षिक, स्वास्थ्य, धार्मिक तथा आर्थिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै २०७६ सालको संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्गीय ओमप्रकाश गोयललाई मरणोपरान्त प्रवल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित गर्नुभएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?