काठमाडौँ । केरा व्यवसायीहरूले यसवर्ष नेपालमै उत्पादित केराले दसैँ, तिहार र छठ पर्वको माग धान्न सक्ने भएकाले भारतबाट आयात नगर्न आग्रह गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले हाल देशभर उत्साहजनक उत्पादन भएकाले विदेशी केरा भित्र्याउन नपर्ने बताएका छन् ।
महासङ्घले फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई पत्राचार गर्दै आयात रोकिनुपर्ने औपचारिक अनुरोध गरेको छ । अनुरोधपत्रमा आयात निरन्तर भइरहे नेपाली किसान विस्थापित हुने, वैदेशिक व्यापार घाटा बढ्ने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।
अध्यक्ष पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘असोज ६ गतेपछि कुनै व्यापारीले जबर्जस्ती भारतबाट केरा ल्याएमा त्यसबाट हुने क्षतिको जवाफदेही महासङ्घ नहुनेछ ।’
यस विषयमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीलगायत जिल्लाका केरा उत्पादक समितिहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आयात रोक्न सरकार र व्यवसायीलाई आग्रह गरेका छन् ।





































