काठमाडौं, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी हालको आर्थिक अवस्था, व्यवसायीहरूको सुरक्षा तथा अटोमोबाइल क्षेत्रमा देखिएका समस्याबारे विस्तृत छलफल गरेको छ।
छलफलमा अध्यक्ष चौधरीले देशको अर्थतन्त्र दिनानुदिन कमजोर हुँदै गएको भन्दै व्यवसायीहरूको मनोबल बढाउने खालका ठोस नीतिहरू तत्काल ल्याउन सरकारसँग माग गर्नुभयो। उहाँले हालैको आन्दोलनका क्रममा भएको तोडफोडबाट भएको क्षतिको बीमा रकम शीघ्र उपलब्ध गराउनुपर्ने र नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागू भएपछि सवारीसाधनको मूल्य वृद्धि हुने भएकाले उद्योग थप संकटमा पर्न सक्ने बताउनुभयो।
अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक नीति–सुधारको आवश्यकता औंल्याउँदै चौधरीले २२ बुँदे सुझावपत्र अर्थमन्त्री खनाललाई बुझाउनुभयो। तीमध्ये पेट्रोल र डिजेलचालित सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको सीमा हालको ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने प्रमुख माग रहेको छ।
छलफलका क्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी भन्सार अवरुद्ध हुँदा सवारीसाधन आयातमा समस्या आएको स्वीकार गर्दै छिट्टै समाधान हुने विश्वास दिलाउनुभयो। उहाँले व्यवसायीहरूको हितमा प्रोत्साहन प्याकेज ल्याइने र प्रदूषण मापदण्ड कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने जानकारी दिनुभयो।
त्यसैगरी, अर्थमन्त्री खनालले व्यवसायीहरूले अघि सारेका सुझावलाई गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आन्दोलनका कारण भएको नोक्सानीबारे तथ्याङ्क संकलन गरी आवश्यक कदम चालिने बताउँदै बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत दिने तयारी भइरहेको स्पष्ट पार्नुभयो। साथै, कर तथा कर–सुविधासम्बन्धी प्रस्ताव मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिने जानकारी पनि दिनुभयो।
सो अवसरमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, महासचिव विक्रमसिंह सनिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति सहभागी हुनु भएको थियो।





































