काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले राजस्व संकलन लक्ष्य पूरा गर्न असफल भएको छ। सरकारी निकायहरूले प्रभावकारी रूपमा राजस्व संकलनमा ध्यान नदिँदा अपेक्षित रकम उठाउन नसकेको अर्थमन्त्रालयले जनाएको छ।
असोज मसान्तसम्ममा सरकारले २ खर्ब ४९ अर्ब रुपैयाँ मात्रै राजस्व उठाएको छ। यो अवधिमा राखिएको लक्ष्य ३ खर्ब २१ अर्ब रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा राजस्व संकलनमा झिनो वृद्धि मात्र (०.३२ प्रतिशत) देखिएको छ। गत वर्ष असोज मसान्तसम्म सरकारले २ खर्ब ४८ अर्ब मात्र उठाएको थियो।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ। तथापि, असोज मसान्तसम्म कुनै पनि प्रमुख शिर्षकमा लक्ष्य अनुसार राजस्व संकलन नभएको तथ्याङ्कले देखाउँछ।
भन्सार महसुल: ७० अर्बको लक्ष्य राखिएकोमा ५६ अर्ब ८५ करोड मात्र संकलन
मूल्य अभिवृद्धि कर (भ्याट): ९४ अर्ब ११ करोडको लक्ष्यमा ८१ अर्ब २३ करोड मात्र उठ्यो
अन्तशुल्क: ४८ अर्ब ६५ करोडको लक्ष्यमा ४७ अर्ब ८३ करोड मात्र संकलन
आयकर: ७१ अर्ब २२ करोडको लक्ष्यमा ४६ अर्ब ९० करोड मात्र उठ्यो
गैरकर: ३५ अर्ब ५२ करोडको लक्ष्यमा १४ अर्ब ७२ करोड मात्र संकलन
पहिलो त्रैमासमै राजस्व लक्ष्य पूरा नगर्नु सरकारले आगामी दिनमा चालु खर्च धान्न समेत चुनौती आउन सक्ने संकेत गरेको छ। हाल दैनिक सरकारको चालु खर्च झन्डै ३ खर्ब रुपैयाँ रहेको छ भने दैनिक राजस्व आम्दानी २ खर्ब ८० अर्ब रुपैयाँ मात्रै छ, महालेखा नियन्त्रकको कार्यालयका तथ्याङ्कले देखाएको छ।






































