काठमाडौँ । बागबजारमा सञ्चालनमा आउन लागेको शैक्षिक परामर्श संस्था फ्लाईफिनिक्स (FlyPhoenix) ले औपचारिक उद्घाटनअघि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सरसफाइ अभियान आयोजना गर्ने भएको छ।
संस्थाले माघ ९ गते हुने आफ्नो भव्य उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा, भोलि (माघ ८ गते) बिहीबार बिहान बागबजार क्षेत्र केन्द्रित सरसफाइ अभियान सञ्चालन गर्न लागेको हो। ‘नयाँ सुरुवात, सफा सुरुवात’ भन्ने नाराका साथ आयोजना गरिने उक्त कार्यक्रम बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुने फ्लाईफिनिक्सका प्रबन्ध निर्देशक विजय विश्वकर्माले जानकारी दिए।
उनका अनुसार, संस्थागत यात्राको आरम्भ नै समुदायप्रतिको जिम्मेवारीबाट गरिनु पर्छ भन्ने मान्यताका साथ सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। “हामी केवल व्यवसायिक सफलता मात्रै होइन, समाजप्रति सकारात्मक योगदानसहित अघि बढ्न चाहन्छौँ। हाम्रो कार्यक्षेत्र सफा, व्यवस्थित र सुन्दर रहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेका हौँ,” विश्वकर्माले बताए।
विद्यार्थीहरूलाई वैदेशिक उच्च शिक्षाका लागि मार्गदर्शन गर्नु संस्थाको मुख्य लक्ष्य भए पनि सामाजिक चेतना अभिवृद्धि र समुदायसँग सहकार्य गर्दै अघि बढ्नु फ्लाईफिनिक्सको दीर्घकालीन सोच रहेको उनको भनाइ छ।
डिजिटल काउन्सिलिङ, पारदर्शी सेवा प्रणाली र विद्यार्थीमैत्री परामर्शलाई प्राथमिकता दिएको फ्लाईफिनिक्सले आफ्नो ट्यागलाइन “Rise Beyond the Borders” लाई व्यवहारमै उतार्ने लक्ष्य लिएको छ। संस्थाको नयाँ कार्यालयको औपचारिक उद्घाटन भने आगामी शुक्रबार माघ ९ गते दिउँसो १२ बजे बागबजारमा हुने तय भएको छ।
फ्लाईफिनिक्सले यूके (UK), अमेरिका (USA), क्यानडा, अस्ट्रेलिया लगायतका प्रमुख अध्ययन गन्तव्य मुलुकहरूका लागि वैदेशिक शिक्षा परामर्श सेवा प्रदान गर्नेछ। अनुभवी परामर्शदातामार्फत गुणस्तरीय काउन्सिलिङ, सही डकुमेन्टेसन तथा भिसा प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।




































