काठमाडौं । अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि नेपाल राष्ट्र बैंकलाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधनमार्फत पहिलो त्रैमासमै उपलब्ध गराउने मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।
अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम विगत सात त्रैमासदेखि प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन आज निर्णय भएको छ।”
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान लामो समयदेखि पाउन नसकेको अवस्थामा यो रकम निकासा भएसँगै कर्जा विस्तार थप सहज हुने अपेक्षा गरिएको छ।
कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जाका विभिन्न व्यवस्था यस प्रकार छन्:
-
कृषि तथा पशुपन्छी कर्जा : ५ करोड रुपैयाँसम्म
महिला उद्यमशील तथा स्टार्टअप कर्जा : २५ लाख रुपैयाँसम्म
वैदेशिक रोजगारबाट फर्केका वा शिक्षित युवा परियोजना कर्जा : २० लाख रुपैयाँसम्म
प्राकृतिक विपद् पीडितका लागि आवास निर्माण कर्जा : ५ लाख रुपैयाँसम्म
यस्ता सहुलियतपूर्ण कर्जामा तोकिएको ब्याज भुक्तानीका लागि सरकारले निरन्तर अनुदान उपलब्ध गराउँदै आएको छ।


































