काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वाग्मती प्रदेशका उद्योगहरूले औसत ३८.७ प्रतिशत मात्र क्षमता उपयोग गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि सम्बन्धी अध्ययनअनुसार यो अघिल्लो वर्षको तुलनामा घटेको हो।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेशका उद्योगहरूको क्षमता उपयोग ४४.३ प्रतिशत थियो।
यस वर्ष नमुना छनोटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको पाइएको छ भने लत्ता कपडा क्षेत्रअन्तर्गतको गार्मेण्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको अध्ययनले देखाएको छ।
समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरूका उत्पादनमध्ये वियर, चुरोट, ट्रान्सफर्मर र औषधि (ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप, लिक्विड) को उत्पादन वृद्धि भएको छ। तर प्रशोधित दूध, पशुखाद्य, चाउचाउ, हल्का पेय पदार्थ, पश्मिना, गार्मेण्ट, रङ्ग, इँटा र बिजुली को उत्पादन घटेको छ।
उद्योगहरूले यस अवधिमा ६ हजार ७८ स्वदेशी र १८८ विदेशी गरी कुल ६ हजार २६६ जनालाई रोजगारी प्रदान गरेको पनि अध्ययनले उल्लेख गरेको छ।


































