काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक र नेकपा (एमाले) दुवै डुबाएको टिप्पणी गरेका छन् ।
सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहङ्कार अझै कायमै रहेको उनले बताए ।
सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुन्डाहरू भेला गर्नुको साटो ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिए ।
‘केपी ओलीको हठ, घमण्ड र अहङ्कारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति हुन गयो । एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घमण्ड र अहङ्कारले मुलुक जलेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्रहार गर्नुको दशा भोग्नुभयो । यस पटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ ।’
देउवा दम्पतिलाई यो देशको माया नभएको बताउँदै आजपा अध्यक्ष साहले नत्र बाँच्नको लागि सङ्घर्ष गरेको अवस्थामा किन नयाँ पासपोर्ट बनाइयो रु भागेर सुख पाइन्छ रु भन्दै प्रश्न समेत गरेका छन् ।
यस्तै नेताहरूको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस् भन्ने माग समेत उनले गरे । यसैगरी अहिलेको सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव उनले दिए ।
‘लोकप्रियतावादको हावा नेपालमा पनि चल्यो । अर्को जेलेन्स्की जन्माएर देशको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हुनसक्छ, देशभक्त हामी नेपाली चनाखो हुन जरुरी छ,’ आजपा अध्यक्ष साहले भने, ‘कागजी बाघहरू लुकेर अँध्यारो कोठाबाट षड्यन्त्रको तानाबाना बुनिरहेका छन्, हिरोइज्म देखाइरहेका छन् । हामी सचेत हुनुपर्छ ।’
मुलुकलाई झनै ठुलो सङ्कटको भुमरीमा फसाइयो बताउँदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।
देश लुटेर सन्तान र सम्पत्ति विदेश पुर्याउने नेताहरूलाई अब छानीछानी आक्रमण गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।
देशमा अनिश्चयको बादल मडारिएको र शक्ति राष्ट्रहरूको सक्रियता एवं चलखेल बढ्दै गइरहेको उनले बताए । नेपाली सेनाले पनि सक्रियता देखाएको बताउँदै साहले राजनीतिक मुद्दामा सेना केन्द्रित हुनु सुखद् पक्ष नभएको टिप्पणी गरे ।






































