काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन् । अर्थमन्त्री पुनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थ मन्त्रालयमा सचिवसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् ।
नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने पनि निर्णयमा उल्लेख छ ।
नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्तबीच ठूलो खाडल रहेको छ ।
‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ ।
रोल्पाको जङ्कोट गाविसमा २०२८ सालमा जन्मिएका अर्थमन्त्री वर्षमान पुनले स्नातक तह सम्मको अध्ययन गरेका छन् । यसअघि उनी २०६४ सालमा संविधान सभा सदस्य, २०६७ सालमा झलनाथ खनालको नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए ।
त्यसपछि २०६८ सालमा डा.बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए । यस्तै २०७४ सालमा केपी ओली नेतृत्वको सरकारमा ऊर्जा, जल तथा सिँचाइ मन्त्री भएका थिए ।
हाल उनी माओवादी केन्द्रको उपमहासचिव पदमा रहेका छन् । मन्त्री पुनले अमेरिका, रुस, चीन लगायत २८ मुलुकहरूको भ्रमण गरेका छन् ।

































