काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय, पसारीमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले जनताको विकास, समृद्धि र सेवा नै आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य रहेको बताएका छन्। “जनताको विश्वासका आधारमा म यहाँबाट चुनावी प्रतिस्पर्धामा उत्रिएको छु,” उनले भने, “पश्चिम नवलपरासी क्षेत्र नम्बर २ का जनताका दीर्घकालीन समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ।”
उनले यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय आवश्यकता र जनताको अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने भन्दै उनले समावेशी विकास र सुशासन आफ्नो एजेन्डा रहने स्पष्ट पारे।
उनी यसअघि बागलुङ क्षेत्र नम्बर २ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। संसदीय अनुभव र सरकार सञ्चालनको अभ्यासले पश्चिम नवलपरासीको विकासमा ठोस योगदान दिन सक्ने विश्वास उनले व्यक्त गरे।
पौडेलको उम्मेदवारी दर्तासँगै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा निर्वाचन माहोल थप सक्रिय बनेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आ–आफ्ना चुनावी गतिविधि तीव्र पारिरहेका छन्।




































