काठमाडौँ। बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटे बाघका लागि दोस्रो ठुलो वासस्थान मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटे बाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटे बाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ।
अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु वृद्धिसँगै यिनीहरूको वासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबिच द्वन्द्व रोक्न विद्युतीय तार बार, कङ्क्रिट पर्खाललगायत पूर्वाधार सँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताए ।
वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ । गत वर्ष वन क्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताए ।
बाघबाट वन क्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उनले भने, ‘वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ।”
































