काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा आयोजित आइइएलटिएस उपहार २०२५ को तेस्रो संस्करणका विजेताहरूको घोषणा गरिएको छ। १७ डिसेम्बर २०२५ मा आयोजित विशेष समारोहमा विजेताहरूलाई औपचारिक रूपमा पुरस्कृत गरिएको हो।
सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।
यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो ।
यस वर्ष तीन जना मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरुमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोजन गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक विजेताले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रायोजन गरेको हवाइ टिकट जितेका छन् ।
पुरस्कार वितरण समारोहमा आइइएलटिएस दर्तामा योगदान पुर्याएका १० साझेदार संस्थामध्ये उत्कृष्ट तीन संस्थालाई पनि सम्मान गरिएको थियो। आइइएलटिएसको प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको कदरस्वरूप आरटीसी इङलिस, सुमेधा एजुकेसन नेटवर्क र द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीलाई आइप्याड प्रदान गरिएको थियो।
ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले समारोहमा बोल्दै आइइएलटिएस उपहार अभियानका सबै विजेतालाई बधाई दिँदै नेपालभर आइइएलटिएसको पहुँच विस्तारसँगै परीक्षार्थीको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरिएको बताउनुभयो। साझेदार संस्थासँगको बलियो सहकार्य र समन्वयबाट प्रेरित हुँदै विद्यार्थीलाई सुरक्षित, विश्वसनीय र उच्च गुणस्तरीय मूल्याङ्कनमार्फत उच्च शिक्षाको खोजीमा आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुर्याइरहेको उहाँको भनाइ थियो।






































