काठमाडौं । आउँदो फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ।
राष्ट्रिय महत्वको निर्वाचनलाई भव्य, सभ्य र सहभागितामूलक बनाउन आयोगले युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई मतदाता शिक्षा र प्रचार प्रसारको माध्यमका रूपमा उपयोग गर्न लागेको हो। आयोगका अनुसार निर्वाचनसम्बन्धी सन्देशमूलक, संवादमूलक र मौलिक सामग्री समेटिएको एक मिनेट अवधिको भिडियो तयार गरी सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। साथै सो भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।
मनोरञ्जनका लागि मात्रै चलाइने टिकटक अब राष्ट्रिय दायित्वसँग पनि जोडिन सक्ने भएको छ। प्रतियोगितामा सहभागी भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने तीन उत्कृष्ट भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।
भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आधारित हुनुपर्नेछ। निर्वाचनको महत्व, मतदाता शिक्षा, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, साथै योग्य उम्मेदवार छनोटका आधारजस्ता विषय समेटिएको सामग्रीलाई प्राथमिकता दिइनेछ।
आफ्नै मौलिक अडियो, प्रस्तुति र अभिनय भएको सामग्रीलाई विशेष महत्व दिइने आयोगले स्पष्ट पारेको छ। एक व्यक्तिले एक विषयमा एउटा मात्र भिडियो पठाउन सक्नेछन् भने दुई वा सोभन्दा बढी व्यक्तिको सहभागितामा पनि भिडियो निर्माण गर्न सकिनेछ।
प्राप्त भिडियोहरूको बौद्धिक सम्पत्ति अधिकार आयोगमै रहनेछ र आवश्यकताअनुसार आयोगले ती सामग्री आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ। तोकिएका मापदण्ड पूरा नगरेका वा म्याद नाघेर प्राप्त भएका भिडियोहरू भने स्वीकार गरिने छैनन्।
उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको संयुक्त मूल्यांकनबाट गरिने सूचनामा उल्लेख छ। आयोगको विश्वास छ । युवाको सिर्जनशीलता र डिजिटल सहभागिताले यसपटकको निर्वाचनलाई अझै उत्साहपूर्ण र जागरूक बनाउने छ।




































