काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल परीक्षण गर्दै आएका ७० बढी स्वास्थ्य संस्थाको सेवा सरकारले तत्कालका लागि बन्द गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्णय गरेको हो। मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो। तर सोही अनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरूलाई मापदण्ड पूरा गरेको नपाएपछि तत्कालका लागि बन्द गरिएको हो । मन्त्रालयले २ सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो। सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिएको थियो।
मन्त्रालयमा २ सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन्। वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम अनुगमन सुरु गरिएको थियो।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ। गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्यमा समस्या भएर फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने गरिएको हो। मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाका लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ।
मन्त्रालयमा सूचीकृत संस्थामा समस्या देखिएपछि गन्तव्य मुलुकले आफ्नै मुलुकको मापदण्डनुसार स्वास्थ्य संस्था छनोट गर्न थालेका छन्। यसमध्ये मलेसियाले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा संस्था छनोट गरेको छ।
साउदी अरबले १९ वटा संस्था तोकेको छ । कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ। इजरायलले ४ र कोरियाले ३ वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ।

































