काठमाडौं । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले अनुगमन तथा मूल्यांकन विधेयक संघीय संसदबाट पारित गरेको छ ।
२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो। सोही विधेयक प्रतिनिधि सभाले आज ९शुक्रबार० पारित गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो।
आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
अब यो विधेयक प्रतिनिधि सभाबाट पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।

































