काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो ।
सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताउनुभयो ।
“परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ”, प्रधानमन्त्रीले भन्नुभयो, “रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुनसक्छ ।”
जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउँदै प्रधानमन्त्री दाहालले कानुनको शासन, मानवअधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिने बताउनुभयो ।
































