काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। प्रारम्भिक आकलनअनुसार २९ जिल्लामा बढी प्रभाव पर्न सक्नेछ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलको मौसम विश्लेषणअनुसार कात्तिक १२ देखि १५ गतेसम्म केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ। मनाङसहित हिमाली क्षेत्रमा पनि सतर्कता आवश्यक रहेको उनले बताएका छन्।
बंगालको खाडीबाट आउने मौसमी प्रणालीसँगै पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना बढ्न सक्ने मौसमविद्हरूको आकलन छ। सम्भावित वर्षाका कारण तराईमा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र मौसमविद् उज्ज्वल उपाध्यायले पनि मौसम प्रतिकूल हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्।
उनीहरूले कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, हिमाली पदयात्रा तथा धान काट्ने र भित्र्याउने काम नगर्न सुझाव दिएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसमको पूर्वानुमान प्रारम्भिक रहेकाले वर्षाको मात्रा र प्रभावित क्षेत्र परिवर्तन हुन सक्ने भन्दै मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन मौसमविद्हरूले आग्रह गरेका छन्।





































