काठमाण्डौ । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो।
आईपीओ निष्कासन प्रक्रियाका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकका रूपमा नियुक्त गरेको छ। यस सम्बन्धमा माघ २७ गते काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा.ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कम्पनीले पूँजी विस्तार, उत्पादन क्षमता अभिवृद्धि तथा व्यवसाय विस्तारका लागि सर्वसाधारणबाट पूँजी संकलन गर्न लागेको जनाएको छ। आईपीओमार्फत संकलित रकम औषधि उत्पादन प्रविधि सुदृढीकरण, नयाँ उत्पादन विकास, वितरण सञ्जाल विस्तार तथा कार्यशील पूँजी व्यवस्थापनमा प्रयोग गरिने अपेक्षा गरिएको छ।
वि.सं. २०४३ माघ ११ गते स्थापना भई २०४६ सालदेखि औपचारिक रूपमा औषधि उत्पादन सुरु गरेको सिद्धार्थ फर्मास्युटीकल्सले नेपाली औषधि उद्योगमा लामो अनुभव हासिल गरेको छ। कम्पनीले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन गर्दै नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ।
कम्पनीले डब्लूएचओ–जीएमपी (WHO-GMP) तथा नेशनल–जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ, जसले यसको उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गुणस्तर मापदण्डअनुरूप रहेको पुष्टि गर्दछ। रुपन्देही जिल्लाको तिलोत्तमा - १५ मा अवस्थित कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट भौतिक संरचना, प्रयोगशाला तथा उत्पादन प्रक्रियाका दृष्टिले डब्लूएचओ जीएमपी मापदण्ड अनुरूप डिजाइन गरिएको बताइएको छ।
कम्पनीले ‘कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस्’ भन्ने मूल उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ। आईपीओ निष्कासनपछि सर्वसाधारणको स्वामित्व सहभागिता बढ्दै जाने र कम्पनीको संस्थागत पारदर्शिता तथा सुशासन अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
































