काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन उल्लेख्य रूपमा उकालो लागेको नेप्से सूचक आज १०.८९ अंकले घट्दै २६२२.५३ विन्दुमा झरेको हो।
आज कुल ३३७ कम्पनीका ९९ लाख ६२ हजार ६२८ कित्ता सेयर किनबेच भएका छन्। यसबाट ४ अर्ब ७३ करोड ८२ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटेको छ, जसले लगानीकर्ताहरूमा फेरि अन्यौलता सृजना गरेको छ ।
उपसूचकतर्फ हेर्दा बजारमा समग्र दबाब देखिएको छ। आज कारोबार भएका १३ मध्ये ११ उपसूचक राताम्मे भएका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समूहका सूचकहरू घटेका छन्।
अघिल्लो दिनको तीव्र वृद्धिपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्दा बजारमा करेक्सन आएको जानकारहरुको भनाई छ। साथै, ठूला लगानीकर्ताहरूको प्रतिक्षात्मक रणनीति र नयाँ सकारात्मक सूचनाको अभावले पनि बजारमा दबाब सिर्जना गरेको उनीहरूको भनाइ छ।
यद्यपि, दीर्घकालीन दृष्टिले बजार अझै स्थिर रहेको र आगामी दिनमा आर्थिक सूचक, नीतिगत निर्णय तथा कर्पोरेट नतिजाले बजारको दिशा तय गर्ने जानकारहरुको भनाई छ।

































