काठमाडौं – विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अर्थ मन्त्रालयले ‘फोकल युनिट’ स्थापना गरेको छ।
मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत गठन गरिएको यो युनिटले विदेशी लगानीसम्बन्धी प्रक्रियामा केन्द्रिय समन्वयकर्ताको भूमिका निर्वाह गर्नेछ।
अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित बैंकिङ, राजस्व तथा अन्य नीतिगत वा प्रशासनिक समन्वयका विषयहरू यही युनिटमार्फत सहज रूपमा व्यवस्थापन गरिनेछ।
नयाँ फोकल युनिटले लगानी प्रक्रियामा देखिने अवरोध हटाउन, समयमै सेवा प्रवाह सुनिश्चित गर्न र मन्त्रालय तथा सम्बन्धित निकायबीचको समन्वय प्रणालीलाई मजबुत बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।
































