काठमाडौं। अन्तरिम सरकारमा सहभागी चार जना मन्त्रीले पदबाट अलग हुँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। चुनावमा सहभागी हुन उनीहरूले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सोही सरकारमा रहेका शिक्षामन्त्रीसहित चार जना मन्त्रीले चुनावी प्रतिस्पर्धामा उत्रिन राजीनामा दिएका हुन्।
आज बिहान मात्रै पदत्याग गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हाल्दै आएका कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा कार्यरत जगदीश खरेल ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।
त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका बब्लु गुप्ताले पनि राजीनामा दिँदै सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ताको अन्तिम दिन तोकिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुनेछन् भने बाँकी ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन भने पुस १३ र १४ गते नै सम्पन्न भइसकेको छ।
































