काठमाडौँ । काठमाडौं उपत्यकाभित्र अब सार्वजनिक सवारीसाधनले तोकिएको स्थानबाहेक यात्रु चढाउने वा झार्ने गरे कानुनबमोजिम कारबाही हुने भएको छ।
यातायात व्यवस्था विभागले तोकिएको ठाउँमा मात्र सवारी रोकेर यात्रु चढाउने र ओराल्ने सूचना जारी गरेको छ। विभागका अनुसार सवारी चाप, अव्यवस्थित सहरीकरण र सडक पूर्वाधार अभावले यातायात व्यवस्थापनमा समस्या देखिएकोले यस्तो कदम चालिएको हो।
हाल उपत्यकामा जथाभावी सवारी रोक्ने र तोकिएको स्थानमै पनि लामो समय यात्रु कुर्दै रोकिराख्ने प्रवृत्तिले यात्रुलाई समयमै गन्तव्य पुग्न कठिनाइ भइरहेको विभागको भनाइ छ।


































