काठमाडाैं : अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच आइतबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भेटका क्रममा उनीहरूले नेपालको वर्तमान परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, र जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याइरहेको सहयोगबारे व्यापक छलफल भएको हो ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारले मुख्य रूपमा तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु पर्ने र यस अवधिमा पुनर्निर्माण तथा आर्थिक–सामाजिक विकासका कार्यक्रम निरन्तरता पाउने बताएका छन्।
छलफलमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजना लगायतका सहयोगका क्षेत्रहरूमा समेत चर्चा भएको थियो। साथै निकट भविष्यमा सम्झौता हुने कोटेश्वर चोक सुधार परियोजना र सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रमसम्बन्धी विविध विषयमा पनि कुराकानी भएको थियो।
उक्त अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको पनि उपस्थिति रहेको थियो।






































