काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले असोज ८ गतेदेखि बजार अनुगमन सुरु गर्ने भएको छ । कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने व्यवसायीलाई ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।
महानगरको कृषि तथा पशुपंक्षी विभागका अनुसार असोज ८ गते दरबारमार्ग क्षेत्रमा घुम्ती खाद्य प्रयोगशालासहित संयुक्त अनुगमन हुने छ । विभागका प्रमुख नुरनिधि न्यौपानेले बजार निरीक्षकले अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र विभागीय प्रमुखले आफ्नो अधिकार प्रयोग गरी २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने जानकारी दिनुभयो ।
अनुगमन टोली र कार्यक्रम
यो विशेष अनुगमनको नेतृत्व उपमेयर सुनिता डंगोलको संयोजकत्वमा रहेको योजना तथा अनुगमन मूल्याङ्कन समिति ले गर्नेछ । टोलीमा खाद्य प्रविधि विज्ञ, महानगर प्रहरी बल र सरकारी निकायका प्रतिनिधिहरू समेत रहनेछन् ।
महानगरपालिकाले यसै सन्दर्भमा शुक्रबार दरबार हाइस्कुलमा साना डेरी उद्योग तथा पसल व्यवसायीका लागि ‘फुड सेफ्टी बुथ’ शिविर आयोजना गर्ने तयारी गरेको छ । यस्तै, असोज २७ गते सोमबार क्षेत्रपाटी क्षेत्रमा संयुक्त बजार अनुगमन गर्ने कार्यक्रम तय भएको छ । यस पटकको अनुगमनमा विशेषगरी फलफूल, माछामासु, दूध र दुग्ध पदार्थ मा बढी ध्यान केन्द्रित गरिने विभागले जनाएको छ ।
उपमेयरको अनुपस्थिति र नियमित अनुगमन
विगत करिब एक महिनादेखि उपमेयर सुनिता डंगोल कार्यालयमा अनुपस्थित रहँदा नियमित अनुगमन प्रभावित भएको थियो। आइतबार उपमेयरसहित बैठक बस्ने तयारी भए पनि उहाँ उपस्थित नहुँदा बैठक हुन सकेन । यद्यपि विभागले यो विशेष अनुगमन कार्यक्रमबाहेक जनगुनासोका आधारमा हुने नियमित अनुगमन भने जारी रहने स्पष्ट पारेको छ ।






































