काठमाडौं। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ काे पहिलो तीन महिनामा (साउन–असाेज) सूचना प्रविधिमा आधारित सेवाको निर्यात उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा चार अर्ब ९० कराेड रुपैयाँ बराबरका आइटी सेवा विदेश पठाइएका छन्।
सोही समयमा ६१ करोड रुपैयाँ बराबरका यस्ता सेवा आयात गरिएका छन्। गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा आइटी सेवा निर्यात तीन अर्ब ५४ करोड रुपैयाँ रहेको थियो, जबकि आयात ५१ करोड रुपैयाँ थियो।
यद्यपि समग्र सेवाव्यापारमा भने घाटा उच्च छ। असोज मसान्तसम्म सेवाव्यापारमा ३२ अर्ब रुपैयाँको कुल घाटा देखिएको हो। यो अवधिमा नेपालले ६२ अर्ब ६६ करोड रुपैयाँको सेवा निर्यात गरेकाे छ भने ९५ अर्ब रुपैयाँको सेवा आयात गरेकाे छ। अर्थात आयात निर्यातभन्दा ३२ अर्ब रुपैयाँ बढी परेको छ।
सेवा क्षेत्रको घाटा बढ्नुमा मुख्य रूपमा विदेश भ्रमण तथा विदेशमा अध्ययन गर्न जाने नेपालीले खर्च गर्ने रकम उत्तरदायी देखिन्छ। पहिलो तीन महिनामै विदेश भ्रमणमा ६४ अर्ब रुपैयाँ बगेको छ, जसमध्ये ४२ अर्ब रुपैयाँ मात्र उच्च शिक्षाका लागि विदेश जानेको खर्च हो।

































