काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका कुल ७५ वटा कम्पनीले ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार ८६१ रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्। यी कम्पनीहरूले संयुक्त रूपमा ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन दिएका हुन्।
धितोपत्र बोर्डका तथ्यांकअनुसार, हाल पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा बढी संख्या हाइड्रोपावर क्षेत्रका कम्पनीहरूको रहेको छ। हाइड्रोपावर क्षेत्रका मात्रै ३७ कम्पनीले आईपीओ निष्कासन स्वीकृतिका लागि आवेदन दिएका छन्।
रकमका हिसाबले हेर्दा भने उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको आईपीओ सबैभन्दा ठूलो रहेको छ। सो समूहका कम्पनीहरूले १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्, जसको कुल मूल्य २७ अर्ब ४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बराबर हुन्छ।
होटल तथा पर्यटन समूहका तीन कम्पनीले १ करोड ४२ लाख १० हजार कित्ता सेयर निष्कासनका लागि १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको प्रस्ताव पेश गरेका छन्। लगानी समूहका चार कम्पनीले १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयर निष्कासनका लागि ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको आवेदन दिएका छन्।
त्यस्तै, बीमा क्षेत्रका तीन लघु बीमा कम्पनी-प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पनि आईपीओ स्वीकृतिका लागि आवेदन दिएका छन्। यी कम्पनीहरूले ६७ लाख ५० हजार कित्ता सेयर (६७ करोड ५० लाख रुपैयाँ बराबर) निष्कासनका लागि माग गरेका छन्।
अन्य समूहमा पर्ने १० कम्पनीले २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर निष्कासनका लागि ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरको अनुमति मागेका छन्। विकास बैंक समूहमा पर्ने सालपा विकास बैंकले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको प्रस्ताव गरेको छ।
हाल धितोपत्र बोर्डमा यी सबै ७५ कम्पनीका प्रस्तावहरू अध्ययनको चरणमा रहेका छन्। यद्यपि चालु आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म बोर्डले कुनै पनि कम्पनीको आईपीओ निष्कासन प्रस्ताव स्वीकृत गरेको छैन।


































