काठमाडौं। आगामी निर्वाचनका क्रममा उम्मेदवारहरूले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था मिलाउन नेपालका लागि नेपाली पार्टीले निर्वाचन आयोगलाई सुझाव दिएको छ। पार्टीले विद्युतीय प्रणाली अवलम्बन गरी निर्वाचन खर्चलाई पारदर्शी बनाउने प्रस्तावसमेत अघि सारेको छ।
पार्टीका अनुसार खर्च व्यवस्थापन प्रभावकारी बनाउन डिजिटल ट्रान्जेक्सन अनिवार्य गरिनुपर्छ, जसले खर्च सीमा उल्लंघन रोकथाममा सहयोग गर्नेछ। प्रस्तावित आचारसंहितामा सुझाव पठाउँदै पार्टीले भनेको छ, “चुनाव खर्च व्यवस्थापनलाई चुस्त बनाउन डिजिटल पद्धति अत्यावश्यक छ।”
पार्टी अध्यक्ष सुशीलचन्द्र अधिकारीले आयोगमा बुझाएको सुझावपत्रमा सबै उम्मेदवारले दैनिक खर्च विवरण अनिवार्य रूपमा अनलाइन पोर्टलमार्फत अपलोड गर्नुपर्ने जनाएको छ। यसले निर्वाचन प्रक्रियालाई पारदर्शी र जिम्मेवार बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ।
सहयोगदाताको विवरणसमेत स्पष्ट र सार्वजनिक गर्नुपर्ने सुझाव सो पार्टीले दिएको छ। “दातृको विवरण पारदर्शी बनाउन आधिकारिक ‘फाइनान्स ट्रान्सपरेन्सी पोर्टल’ सञ्चालनमा ल्याइनुपर्छ,” सुझावपत्रमा उल्लेख छ। त्यस्तै, राज्यका स्रोत साधनको दुरुपयोग रोक्न सरकारी सवारी, भवन, कर्मचारी वा कार्यक्रमको प्रयोग भएमा तत्काल निलम्बन र कारबाही गर्न सकिने प्रावधान राख्नुपर्ने सुझाव पनि दिएको छ।







































