काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने गरिन्छ ।
बडादशैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाआरम्भ गरिन्छ ।
बिहानै नित्यकर्म सम्पन्न गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई, गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा राखेर त्यसमा यव (जौ) रोप्ने परम्परा रहिआएको छ । यसलाई जमरा राख्ने भनिन्छ । दुर्गा देवीको प्रिय वस्तु मानिने यव अंकुर दशमीका दिन देवीलाई चढाइएर टीका–प्रसादसँगै ग्रहण गरिन्छ । समृद्धि र विजयको प्रतीक पहेंलो जमरा यसरी नै परिवारका सदस्यहरूले ग्रहण गर्ने परम्परा छ ।
आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यसैमा शक्तिस्वरुपा दुर्गाको पूजा–आराधना गरिने भएकाले आजलाई घटस्थापनाको दिन भनिएको हो । घटमा राखिएको कलशको जललाई पवित्र मानेर विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने चलन छ । यस वर्षको घटस्थापनाको साइत बिहान ९:१३ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


































