काठमाडौँ, उज्यालो र सौहार्दको पर्वका रूपमा मनाइने यमपञ्चक (तिहार) आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने यो पर्व आज कार्तिक कृष्ण त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि प्रारम्भ भएकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइन्छ। यमदीपदान आज बेलुकीदेखि सुरु हुनेछ भने काग तिहार आइतबार पर्नेछ।
समितिका अध्यक्ष प्रा.
यस वर्षको धनवन्तरी जयन्ती पनि आइतबारकै दिन परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइने भएको समितिले जनाएको छ। समितिका अनुसार कार्तिक २ गते आइतबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिनेछ। यो दिन बिहान अपामार्गसहित स्नान गर्ने चलन छ, जसलाई ‘नरक स्नान’ भनिन्छ। धार्मिक विश्वासअनुसार यो दिन नदीमा बत्ती बालेर बगाउँदा नरकको यातना भोग्न नपर्ने मानिन्छ।
कार्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा यही दिन गर्नुपर्ने भएको हो। रातमा औँसी तिथि परेकाले यो दिनलाई लक्ष्मीपूजाको सबैभन्दा उपयुक्त समय मानिन्छ।
कार्तिक ४ गते मङ्गलबार औँसी दिउँसो ४ः२९ बजेसम्म मात्र रहने भएकाले त्यस दिन तिहारको कुनै विशेष पर्व नपर्ने समितिले स्पष्ट पारेको छ। कार्तिक ५ गते बुधबार गाई, गोरु र गोवद्र्धन पूजा तथा आत्म (म्ह) पूजा हुनेछ। यही दिनबाट नेपाल संवत् ११४६ सुरु हुनेछ। शास्त्रीय परम्पराअनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदयसँगै नयाँ वर्षको आरम्भ हुने विश्वास छ।
यस वर्ष भाइटीका कात्तिक ६ गते बिहीबार परेको छ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे का लागि रहेको छ। परम्पराअनुसार दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने चलन छ। सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने समितिले जनाएको छ।
दसैँका बेला सुनसान रहने काठमाडौँ उपत्यका तिहारमा भने झिलिमिली र देउसी–भैलोको माहोलले रमाइली बनेको छ। देउसी र भैलो विशेषगरी लक्ष्मीपूजा र गोवद्र्धन पूजाका दिनहरूमा बढी खेलिन्छ। कर्णाली र सुदूरपश्चिमका कतिपय ठाउँमा भने कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो खेल्ने परम्परा रहिआएको छ।


































