National life

आज राष्ट्र एकताको प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्ती, देशभर सार्वजनिक बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ पुस २०८२, आइतबार
778Shares
आज राष्ट्र एकताको प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्ती, देशभर सार्वजनिक बिदा
ncell

काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती हरेक वर्ष राष्ट्रिय एकता दिवसका रूपमा मनाउने परम्परा रहिआएको छ।

आधुनिक नेपालको एकीकरण अभियानका महान् नेतृत्वकर्ता मानिने पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै आज पनि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम ढोकाअगाडि अवस्थित उनको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिनेछ। पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।

Royal Enfield
nic asia capital

शाहको जन्मभूमि गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाइँदैछ। नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको सक्रिय सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार तयार गरेका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएका शाहले २० वर्षकै उमेरमा गद्दीआरोहण गरी आन्तरिक तथा बाह्य शक्तिलाई परास्त गर्दै एकीकरण अभियान अघि बढाएका थिए।

राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई अझ सबल बनाउने प्रेरणा प्रदान गर्दछ। यस दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो भन्ने सन्देश पनि प्रवाह गर्दछ। विशेषतः युवापुस्तामा मातृभूमिप्रतिको समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गराउन यस दिवसको विशेष महत्व रहँदै आएको छ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार निर्माण गरेको हुँदा नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन सफल भएको हो। उनका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छन्। भौगोलिक अवस्थालाई ध्यानमा राख्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिएका शाहका विचार आज पनि कूटनीतिक र राष्ट्रिय हितका दृष्टिले महत्वपूर्ण छन्।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?