काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदैछ । चरम गरिबीविरुद्ध एकजुट भई लड्ने र गरिबीसम्बन्धी सचेतना तथा जानकारी आदानप्रदान गर्ने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १७ का दिन यो दिवस मनाइन्छ ।
यस वर्षको नारा ‘परिवारप्रति सम्मान र प्रभावकारी सहयोग सुनिश्चित गर्दै सामाजिक र संस्थागत दुर्व्यवहारको अन्त्य गर्नु’ रहेको छ । सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको पहलमा मनाउन थालिएको यस दिवसले खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिब मान्ने परिभाषा अघि सारेको छ। दिगो विकासका लक्ष्यहरू (SDGs) ले पनि २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य गर्ने उद्देश्य राखेका छन्।
नेपाल सरकारले पनि गरिबी निवारणका लागि संघ, प्रदेश र स्थानीय तहमार्फत अबौं रुपैयाँका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै, सन् २०२२ सम्ममा अत्यन्त कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो।
तर, अपेक्षाकृत रूपमा भने गरिबी घट्ने दर सुस्त भएको देखिन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको २०७९/८० को नेपाल जीवनस्तर सर्वेक्षण अनुसार हाल पनि २०.२७ प्रतिशत नेपाली नागरिक गरिबीको रेखामुनि रहेका छन्।
विश्वस्तरमा करिब ४४ प्रतिशत जनसंख्या अझै पनि गरिबीको चपेटामा रहेको तथ्यांकले देखाएको छ। आजको दिवसले हरेक देश र समाजलाई गरिबीविरुद्ध साझा प्रतिबद्धता जनाउँदै समावेशी र समान अवसरयुक्त विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।






































