काठमाडौँ । ‘सतर्कता र प्रतिबद्धता मार्फत् समाजको सुरक्षा गर्दै भन्सार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ सोमबार नेपालभर ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस भव्य रूपमा मनाइँदैछ।
विश्व भन्सार संगठन (डब्लुसिओ) को स्थापना दिवसको अवसरमा हरेक वर्ष जनवरी २६ मा यो दिवस मनाउने गरिन्छ। दिवसको पूर्वसन्ध्यामा भन्सार विभागले काठमाडौँमा करिब ४ किलोमिटर लामो विशेष दौड प्रतियोगिता आयोजना गरेको छ। त्रिपुरेश्वरस्थित भन्सार विभागबाट सुरु भएको दौड थापाथली, माइतीघर र बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेर समापन भएको थियो।
दिवसका अवसरमा भन्सार विभागमा आयोजित विशेष समारोहमा अर्थमन्त्री तथा भन्सार महानिर्देशकले भन्सार प्रशासनमा प्रविधिको प्रयोग, सुधार र आधुनिकीकरणका विषयमा मन्तव्य राख्ने कार्यक्रम छ। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने भन्सार कर्मचारी तथा निर्यात प्रवर्द्धनमा योगदान पुर्याएका उद्यमीहरूलाई सम्मान गरिनेछ।
यसै अवसरमा विराटनगर, वीरगञ्ज र भैरहवा लगायतका प्रमुख भन्सार नाकाहरूमा भन्सार एजेन्ट संघको सहकार्यमा रक्तदान कार्यक्रम तथा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ। नेपालले यस वर्षदेखि भन्सार ऐन २०८२ कार्यान्वयनमा ल्याउँदै भन्सार प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य लिएको छ।
नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत कागजरहित भन्सार प्रणालीलाई थप सुदृढ बनाइएको छ, जसले व्यापार सहजीकरण गर्नुका साथै राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।




































