काठमाडौं । आगामी फागुन २१ मा हुने भनिएको आमनिर्वाचनको तयारीको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई २८१ वटा नयाँ गाडी खरिद गर्न अनुमति प्रदान गरिएको छ।
यो कदम भदौ २३–२४ मा भएको जेएनजी आन्दोलनका क्रममा उपद्रवीहरूले प्रहरीका गाडी जलाएको घटनापछि अर्थ मन्त्रालयले सुरक्षा बलहरूको क्षतिपूर्ति र आगामी चुनाव तयारीका लागि आवश्यक साधन उपलब्ध गराउने हेतुले उठाएको हो।
अर्थ मन्त्रालयले नेपाल प्रहरीका लागि १७५ वटा पिकअप गाडी र ६ वटा कैदी बोक्ने भ्यान खरिद गर्ने बजेट स्रोत सहमति प्रदान गरेको छ। त्यसैगरी, सशस्त्र प्रहरी बलका लागि ७० वटा पिकअप, २० वटा आन्दोलन नियन्त्रण गर्ने सवारीसाधन, २ वटा एम्बुलेन्स, ३ वटा डिजास्टर रेस्क्यु भ्यान र ५ वटा १२ बाई १२ ट्रक खरिद गर्न अनुमति दिएको छ।
प्रहरीका अनुसार, कात्तिक २१ मा बोलपत्र आह्वान गर्दै १०० युनिट पेट्रोल पिकअप गाडी र ६ वटा कैदी भ्यान माग गरिएको छ। तथ्यांकअनुसार, जेएनजी आन्दोलनमा ३६ वटा ट्रक र बस तथा १२७ वटा जिप, कार र भ्यान जलेका थिए।
सुरक्षा बलहरूले नयाँ गाडी खरिद पश्चात् आफ्नो परिचालन क्षमता मजबुत पार्ने र आगामी निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
































