काठमाण्डौ । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिनामा आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार पुसको पहिलो सातासम्मको अवधिमा कुल आन्तरिक राजस्व संकलन २७.९० प्रतिशतले घटेर एक खर्ब ९६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ।
अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा भने कर संकलन १० प्रतिशतले वृद्धि हुँदै दुई खर्ब ७१ अर्ब ९१ करोड रुपैयाँ पुगेको थियो।
यस वर्ष राजस्व संकलनमा गिरावट आउनुको प्रमुख कारण भ्याट, आयकर र अन्तःशुल्कजस्ता मुख्य शीर्षकमा नै असुली घट्नु रहेको विभागको तथ्यांकले देखाएको छ। धेरै राजस्व प्राप्त हुनेमध्येको एक संस्थागत आयकर संकलन मात्रै अघिल्ला दुई आर्थिक वर्षको तुलनामा ६८.५९ प्रतिशतले घटेको छ।
त्यसैगरी, व्यक्तिगत आयकर २६.९२ प्रतिशत, लगानी आयकर ३०.१८ प्रतिशत, मूल्य अभिवृद्धि कर (भ्याट) ११.८१ प्रतिशत, अन्तःशुल्क ६.९४ प्रतिशत र स्वास्थ्य सेवा कर २१.६८ प्रतिशत ले घटेको विभागको तथ्यांक छ। यद्यपि, शिक्षा शुल्कमा ०.४८ प्रतिशत र अन्य कर संकलनमा ३.३९ प्रतिशतको सुधार देखिएको छ।
सरकारी स्वामित्वका संस्थानबाट उठ्ने आयकर पछिल्ला तीन वर्षयता निरन्तर घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष ०८०/८१ मा ७ पुससम्म चार अर्ब ३९ करोड रुपैयाँ संकलन भएकोमा ०८१/८२ को सोही अवधिमा घटेर तीन अर्ब ५८ करोड रुपैयाँमा सीमित भयो। चालू आर्थिक वर्ष ०८२/८३ मा भने झन् घटेर ७ पुससम्म एक अर्ब १८ करोड रुपैयाँ मात्र संकलन भएको छ।
पब्लिक लिमिटेड कम्पनीबाट संकलन हुने आयकरमा अझै ठूलो गिरावट देखिएको छ। आर्थिक वर्ष ०८०/८१ को ७ पुससम्म ४० अर्ब ५८ करोड रुपैयाँ उठेको यस शीर्षकमा ०८१/८२ मा २६ अर्ब २५ करोड रुपैयाँ मात्र संकलन भएको थियो। चालू आर्थिक वर्षको ७ पुससम्म भने यो रकम घटेर चार अर्ब नौ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४.३९ प्रतिशतले कम हो।
निजी कम्पनीहरूबाट उठ्ने आयकरमा पनि यस वर्ष गिरावट आएको छ। आर्थिक वर्ष ०८०/८१ मा १७ अर्ब तीन करोड र ०८१/८२ मा २३ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको निजी कम्पनीतर्फको आयकर चालू वर्ष ०८२/८३ को ७ पुससम्म आठ अर्ब ४१ करोड रुपैयाँमा मात्र सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा ६४.०८ प्रतिशतको गिरावट हो।
































