काठमाडौ ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ १ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा इमेलमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी हुन् ।
उम्मेदवारीसँग जोडिएको विवाद बढ्दै गएपछि तामाङ शुक्रबार निर्वाचन आयोगमा पुगेर कानुनी तथा प्रक्रियागत परामर्श लिएकी थिइन् । परामर्शपछि उनले उम्मेदवारी कायम राख्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।
तामाङ जर्मनीको स्थायी बसोबास अनुमति (पीआर) होल्डर रहेको विषय सार्वजनिक भएपछि उनको उम्मेदवारीको वैधतामाथि प्रश्न उठेको थियो । नेपालको प्रचलित कानुनअनुसार विदेशी आवासीय हैसियत भएका व्यक्तिको उम्मेदवारीलाई लिएर स्पष्टता आवश्यक पर्ने भएकाले यो विषय राजनीतिक र कानुनी विवादको केन्द्रमा परेको थियो।
विवाद चर्किंदै गएपछि निर्वाचन प्रक्रिया, पार्टीको छवि र समग्र राजनीतिक वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै तामाङले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । यस घटनापछि धादिङ–१ मा रास्वपाको चुनावी रणनीति र आगामी उम्मेदवारबारे थप चासो बढेको छ ।




































