कास्की। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन्।
अहिले समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताएका हुन्। ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले।
नागरिकहरूमा व्यापक असन्तोष जमेको उल्लेख गर्दै थापाले राज्यका प्रमुख संस्थाहरू, संविधान, न्यायालयदेखि राजनीतिक दल र नेतृत्वसम्मप्रति गहिरो अविश्वास फैलिएको बताए। यो अविश्वास समयसँगै बढ्दै जाँदा मुलुकले समग्र रूपमा आत्मबल गुमाउँदै गएको जस्तो देखिएको उनको भनाइ थियो। समाज बाहिरबाट शान्त देखिए पनि भित्री रूपमा असन्तुलन र तनाव तीव्र बन्दै गएको भन्दै यस्तो संवेदनशील घडीमा मुलुकलाई स्थिरता दिने जिम्मेवारी नेपाली कांग्रेसको भएको उनले स्पष्ट पारे।
उनका अनुसार अहिले देशमा व्याप्त निराशाको मूल कारण भ्रष्टाचार नै हो। नागरिकलाई नेपालको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्दा उनीहरूले भ्रष्टाचार नै औँल्याउने अवस्था आएको भन्दै त्यसविरुद्ध निर्णायक लडाइँ लड्ने शक्ति नयाँ संकल्पसहित अघि बढेको नेपाली कांग्रेस भएको दाबी गरे। विगतमा मुलुकलाई हिंसाको दलदलबाट बाहिर ल्याएको अनुभव कांग्रेससँग रहेको उल्लेख गर्दै अब भ्रष्टाचारको जरो उखेल्ने अभियानमा पनि पार्टी दृढताका साथ अघि बढ्ने उनले बताए।
सभापति थापाले आगामी दिनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले जनतामाझ पुग्दा कांग्रेसले देशलाई जिम्मेवारीपूर्वक सम्हाल्ने र सुधारको बाटोमा अघि बढाउने स्पष्ट सन्देश लिएर जान आग्रह गरे।
































